हेटौंडा– बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सामाजिक रुपमा बुझाईको कमीका कारण यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुमाथि भेदभाव तथा दुव्र्यवहार हुने गरेको बताउनुभएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चितता र भेदभाव तथा लान्छना अन्त्यसम्बन्धी आईतबार हेटौंडामा आयोजित अन्तरकृया कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सेभ द चिल्ड्रेनको सहयोगमा ब्लु’ डाइमन्ड सोसाइटीले आइतबार प्रदेश राजधानी हेटौंडामा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्नुहुँदै सभामुख श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चितता र भेदभाव तथा लान्छना अन्त्यका लागि सामाजिक सचेतनामा वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । हरेक मानवले अर्को मानवलाई गर्नुपर्ने व्यवहार समान हुनपर्ने भन्दै सरकारको तर्फबाट उक्त समुदायलाई आय आर्जनमा जोड्न र अन्य नागरिक सरह बाँच्नसक्ने अथवा सिर्जना गर्न पहल गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले संविधानले सबै नागरिकलाई सम्मान पूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको बताउनुभयो । कसैले पनि कसैलाई कुनै पनि प्रकारको अपमान तथा दुव्र्यवहार गर्न नहुने उहाँको भनाई थियो ।
कार्यक्रममा सोसाइटीको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यकको लागि समावेशी ऐन, नीति तथा कार्यक्रम ल्याउनु पर्ने साथै सरकारले उक्त समुदायका लागि आय आर्जनका कार्यक्रम सञ्चालन गनुपर्नेमा जोड दिइएको थियो । यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई सहज नागरिकताका साथै समान प्रतिनिधित्वको अवसर दिनुपर्ने बताइएको थियो । कार्यक्रममा ब्लु डाईमण्ड सोसाईटीकी सम्योजक किरण थापाले स्वास्थ्य क्षेत्रमा निःशुल्क सेवा उपलब्ध गराउन माग गर्नुभयो ।
ब्लु’ डाइमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामा, सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, सेभ द चिल्ड्रेनकी प्रतिनिधि सरुची रायमाझी, राष्ट्रिय एचआइभी एड्स महासंघका साजन थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।