मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेशको समृद्धिका लागि सबैले आ–आफ्नो स्थानबाट महत्वपूर्ण भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । प्रदेशसभाको तेस्रो वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख प्रसाईले विधिको स्थापना गर्दै समृद्ध प्रदेश निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो ।

प्रदेश प्रमुख प्रसाईले प्रदेश सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर जनताप्रति भरोसा दिलाउने, विकास पूर्वाधार र आर्थिक समृद्धि ल्याउन सबैसँग सहकार्य गरेर अघि बढ्न आवश्यकता रहेको बताउनुभयो । उहाँले संघीयता स्थापीत गर्न दलहरुले आपसी वादविवादलाई त्यागेर जनता र राष्ट्रप्रति जवाफदेही हुन सकेमात्र प्रजातन्त्रको भविष्य उज्वल हुने समेत बताउनुभयो । प्रदेशसभाले आफ्नो कार्य प्रणालीलाई व्यवस्थित रुपमा सञ्चालन गरिरहेको भन्दै उहाँले आगामी दिनमाहरुमा कार्यप्रणालीलाई थप व्यवस्थित गरेर काम गर्न समेत आग्रह गर्नुभयो ।
वार्षिकोत्सवका अवसरमा बागमती प्रदेशसभाको बैठकमा नियमित उपस्थित हुने ७ जना सदस्यलाई सम्मानित समेत गरिएको थियो । वार्षिकोत्सवका अवसरमा प्रदेश सभाका सदस्यहरु गोमा भुर्तेल, बसन्तप्रसाद मानन्धर, चन्द्रबहादुर लामा, सीता अधिकारी, पार्वती शिलवाल, रमेशप्रसाद पौडेल र नरोत्तम वैद्यलाई सम्मानित गरिएको हो । यस्तै कार्यक्रममा प्रदेश सभा सचिवालयका पूर्व सचिव रामशरण घिमिरे, अधिकृतहरु शान्तप्रसाद भुजु, सुन्दर पन्त, मीना तिमल्सिना, दामोदर घिमिरे र उपमर्यादा पालकहरु निराजन ढकाल, लक्ष्मी विष्ट र प्रहरीतर्फ योगेन्द्र थापा मगरलाई समेत सम्मानित गरिएको थियो । प्रदेश सभा सदस्यहरुलाई दोसला र प्रशंसापत्रसहित सम्मान गरिएको थियो, भने अन्यलाई नगद, दोसला र कदर पत्रसहित सम्मानित गरिएको थियो । उहाँहरुलाई प्रदेश प्रमुख प्रसाई, मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सम्मान गर्नुभएको थियो ।