मकवानपुर । बागमती प्रदेशमा सरकार गठनका लागि चार दलबीच बाँकी कार्यकाल सहकार्य गर्ने गरि सहमति भएको छ । बिहीबार मुख्यमन्त्रीको सरकारी निवासमा सत्ता साझेदार नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच सहमति भएको हो ।

दलहरूले बागमती प्रदेश सभाको बाँकी कार्यकालको लागि सहकार्य गरी राजनीतिक स्थायित्व, विकास र समृद्धिको नागरिक चाहनालाई आत्मसात् गरी प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने गरि सहमति गरेका छन् । बैठकले केन्द्रीयस्तरमा बनेको सत्ता समीकरणको निर्णय अनुसार प्रदेश सरकारको नेतृत्व कार्यान्वयन गरी सहभागी दलका बीचमा प्रदेश सरकारको नेतृत्वमा सहकार्य गरी अघि बढ्ने निर्णय गरेको एमाले संसदिय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।
उहाँले सरकार सञ्चालनका सन्दर्भमा समीकरणमा आवद्ध दलहरुको प्रतिनिधि रहने प्रदेश स्तरीय संयन्त्र निर्माण गरी साझा न्यूनतम नीति कार्यक्रम बनाई त्यसको मार्ग दर्शनमा सरकार अघि बढ्ने सहमति भएको बताउनुभयो । यस्तै प्रदेश सरकार गठनका सन्दर्भमा सहभागी दलहरुको सहमतिको आधारमा मात्र मन्त्रिपरिषद्को संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी विभाजन गर्ने, प्रदेशको राजनीतिक स्थायित्व, विकास र समृद्धिका पक्षमा प्रदेश सभामा प्रतिनिधित्व गरेका अन्य दललाई पनि यस समीकरणमा सहभागी हुन अनुरोध गर्ने निर्णय गरेको छ ।
सहमति पत्रमा एमाले संसदिय दलका नेता जगन्नाथ थपलिया, नेकपा. (माओवादी केन्द्र) का संसदिय दलका नेता एवम् मुख्यमन्त्री शालिकराम जम्कट्टेल, एकीकृत समाजवादी) संसदिय दलका नेता एवम् मन्त्री डा. श्री राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका संसदिय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ । सहमति अनुसार बज्राचार्य आजै मन्त्री नियुक्त हुनुहुँदैछ ।












