हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीकाे सपथ लिँदै ।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहीबार मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । बिहीबार हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुहुँदै सरकार बिस्तार गर्नु भएको हो ।

नवनियुक्त मन्त्री बज्राचार्यले आजै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्षा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । उहाँले नेपाल भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । बिहीबार मुख्यमन्त्रीको सरकारी निवासमा सत्ता साझेदार नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच भएको सहमति अनुसार उहँँलाई मन्त्री पदमा नियुक्त गरिएको हो । सत्ता साझेदार चार दलबीच बाँकी कार्यकाल सहकार्य गर्ने गरि सहमति भएको छ ।

यसअघि हाम्रो नेपाली पार्टीले गत चैत्र ९ गते जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको हप्ता दिन नपुग्दै बज्राचार्य सरकारमा सहभागि हुनुभएको छ । हाम्रो नेपाली पार्टीले यसअघि चैत्र ४ गते विज्ञप्ति जारी गरेर मुख्यमन्त्रीमा दाबी रहेको जनाएको थियो । बज्राचार्यलाई २९ फागुनमै मन्त्री नियुक्त गर्ने तयारी गरिएको थियो । तर उहाँ काठमाडौैंबाट हेटौंडा नआएपछि मुख्यमन्त्री जम्कट्टेलको प्रयास विफल भएको थियो । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने दबाबका बीच जम्कट्टेलले सरकार विस्तारलाई अगाडि बढाउनु भएको हो । उहाँले २२ चैतभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ ।

११० सांसद रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । अहिलेको गठबन्धनमा एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको सात गरी जम्मा ५५ सांसद छन् । हानेपाको समर्थन पाएपछि अब सरकार जोगाउन आवश्यक ५६ सांसद पुग्नेछ । प्रदेशसभामा नेपाली कांग्रेसको ३७, राप्रपाको १३ र नेमकिपाको ३ सांसद छन ।