मकवानपुर – अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा हेटौंडामा शनिबार ५ किलोमिटर पुरुष खुल्ला दौड प्रतियोगितामा आयोजना गरिएको छ । प्रदेश युवा परिषद् बागमती प्रदेशको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको दौड प्रतियोगितामा हेटौंडाका महेश मोक्तान प्रथम हुन सफल भएका छन् । जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा भएको दौड प्रतियोगिता ४० जना धावकलाई पछि पार्दै मोक्तान प्रथम हुन ुपल भएका हुन् ।
हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड प्रतियोगिता हेटौंडा–५ पिप्लेसम्म पुगि पुनः बुद्धचोक मै आएर समापन भएको थियो । प्रतियोगितामा प्रथम भएका हेटौंडा १३ वनस्पतिका महेश मोक्तानले निश्चित दुरी १६ मिनेट ३४ सेकेन्डमा पुरा गरेका थिए । यस्तै प्रदेश प्रहरी कार्यालय हेटौंडाका सुरेश साह दोस्रो भएका छन् । उनले १७ मिनेट २६ सेकेन्डमा दौड पुरा गरे । प्रदेश प्रहरी कार्यालयकै एजिन राईले १७ मिनेट ३६ सेकेन्डमा दौड पुरा गर्दै तृतिय हुन सफल भए ।
प्रदेश युवा परिषद्ले अगष्ट १२ बाट सुरु गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत तेस्रो कार्यक्रमको रुपमा दौड प्रतियोगिताको आयोजना गरिएको हो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोली साउन ३१ गते बाल कल्याण समाज मकवानपुरको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रबाट जोगाउ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिने, साउन ३२ गते शिक्षाका लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम संचालन गरिने, भदौ १ गते हेटौंडा लेडी जेसिसको समन्वयमा वक्तृत्वकला प्रतियोगिता संचालन र भदौ २ गते कार्यक्रम समापन गरिने जनाइएको छ ।