मकवानपुर । हेटौंडामा शुक्रबारबाट ६० लाख लिटर सुद्ध खानेपानी थप भएको छ । विश्व पानी दिवसको अवसर पारेर हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबारबाट थप ६० लाख लिटर खानेपानी उपलब्ध हुने गरि आयोजना संचालनमा ल्याएको हो ।

६० लाख लिटर पानी थप भएसंगै हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले अब दैनिक ३ करोड २२ लाख लिटर पानी वितरण गर्ने जनाएको छ । बोर्डले हाल हेटौंडा उपमहानगरपालिका २, ४, ५, ६, ७, ८, ९, १० गरी ८ वटा वडाको सबै भु—भाग र वडा नम्बर १, ३, १४, १५, १६, १७, १८ र १९ का केही भु—भागहरुमा बसोबास गर्ने करिब १ लाख ६० हजार नगर बासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।

No description available.

विश्व पानी दिवसको अवसरमा खानेपानी व्यवस्थापन बोर्डले शुक्रबार मकवानपुरगढी गाउँपालिका–३ मा पर्ने सामरी खोलाबाट समवेयल संचालनमा ल्याएको हो । समवेयलको हेटौंडाकी मेयर मिनाकुमारी लामाले उद्घाटन गर्नुभएको थियो । करिब २५ लाख रुपैयाँ लागतमा उक्त समबेयल निर्माण गरिएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो ।

No description available.

दैनिक २ करोड ६२ लाख लिटर पानी उत्पादन गरी करिब २६ हजार ८ सय ७५ वटा धाराहरुबाट सरदर दैनिक ७ देखि ८ घण्टा खानेपानी वितरण गर्दै आइरहेकोमा आजबाट सामरी समवेलको शुभारम्भ भएसंगै दैनिक ६० लाख लिटर पानी थप गरी ३ करोड २२ लाख लिटर खानेपानी वितरण गर्नसफल भएको बिष्टले बताउनुभयो । समवेल सञ्चालनमा आएसंगै हेटौंडा उपमहनगरपालिकाको मुख्य बजारक्षेत्र भित्र २४ सै घण्टा पानी वितरण गर्न सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

बोर्डमा हाल १ वटा सतहगत मुहान, ३७ वटा डिप बोरिङ्ग, १३ वटा सम्वेल र पानी भण्डारण क्षमता ६ हजार ४४९ घ.मि. रहेको उहाँले बताउनुभयो । उहाँले खानेपानी बोर्डले हाल करीब ४७० किमि पाइप लाइन नेटर्वक विस्तार गरेको समेत बताउनुभयो । समवेयल उद्घाटन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याताङन, हेटौंडाका उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायतको सहभागिता थियो ।