सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा हुनुभएको छ । महरालाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो ।

महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो । सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्युरोले महरालाई पक्राउ गरेको थियो । कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पूर्पक्षका लागि थुनामा छन् । गएको साउन २ गते ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन र वि.स.२०७९ साल पुसमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ ।