मकवानपुर – डिभिजन वन कार्यालय राप्ती मनहरीले वनजंगल, वातावरण, पर्यटन, जैविक विविधतालगायतका विषयवस्तु समेटिएको ‘वातावरण शिक्षा’ पुस्तक प्रकाशन गरेको छ । विद्यालय/विद्यार्थी, प्रकृतिप्रेमीलगायत बिभिन्न संघसंस्थालाई उपयोगी हुने गरि प्रकाशित उक्त पुस्तक सोमबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई समपर्ण गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा सोमबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमलगायत सरोकारवालाहरुले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पुस्तक समपर्ण गर्नुभएको थियो ।

वन, वातावरण, पर्यटन विकास, पर्यावरण, वन्यजन्तु संरक्षण, जलाधार क्षेत्रको संरक्षण लगायतका बिषयमा केन्द्रित रही किताब तयार पारिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले बताउनुभयो । १५६ पृष्ठको उक्त पुस्तक विद्यालय÷विद्यार्थी, प्रकृतिप्रेमीलगायत बिभिन्न संघसंस्थालाई उपयोगी हुने गरि प्रकाशन गरिएको आचार्यले बताउनुभयो । पुस्तकमा मकवानपुरको शैक्षिक अवस्था÷ गतिबिधि, वन बाताबरणका बिषयबस्तु, मकवानपुरको सन्दर्भ, राष्ट्रिय सन्दर्भ लेख, कबिता, स्मरण, तस्विर र नाराहरु समेटिएको ३१ वटा लेख र ६ वटा कबिता समेटिएको छ । सामुदायिक र कबुलियती वनहरुमार्फत समुदायले वन र वातावरण संरक्षण अभियानमा सहभागिता जनाए पनि नयाँ पुस्ताले संरक्षण अभियानमा ध्यान नदिएको र सहभागी नगराइएकाले पुस्तक तयार पारी हरेक विद्यालय र क्याम्पसमा पु¥याउने प्रयत्न गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम समर्पण समारोहमा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री बिशाल खड्काले वन र वातावरणको संरक्षणसँगै उपलब्ध प्राकृतिक स्रोतलाई देशको आर्थिक समृद्धिसँग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले वन र वातावरणले पारिस्थितिक प्रणालीमा सन्तुलन कायम राख्ने मात्र नभई बलियो रोजगारी अर्थ संकलनमा गतिलो आधारको रुपमा योगदान दिन सक्ने भएपनि यतातिर सरोकारवालाको ध्यान जान नसकेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले जलवायु परिर्वतन र वनजंगल संरक्षणमा सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले पुस्तकका माध्यमबाट वनजंगल, वातावरण, जैविक विधिताको संरक्षणसंगै मकवानपुरलाई परिचित गराउन उपयोगि हुने बताउनुभयो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले वनजंगल, वातावरण र जैविक विविधताको संरक्षणका लागि उपमहानगरपालिका तत्पर भएर लागेको जानकारी गराउनु भयो । उहाँले सालक संरक्षणका लागि लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा बरिष्ठ पत्रकार प्रताप बिष्टले पुस्तकको सान्दर्भिकताको विषयमा समिक्षा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो ।













