मकवानपुर – बागमती प्रदेशसभाको दोस्रो कार्यकालको प्रदेशसभा अधिवेशनको सुरुआतका लागि बागमती प्रदेशसभा सचिवालयले तयारी पुरा भएको जनाएको छ । प्रदशेसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक भएसँगै बागमती प्रदेश सचिवालयले दोस्रो कार्यकालको पहिलो प्रदेशसभा अधिवेशनको तयारी गरेकाे हाे । बागमती प्रदेशसभा सचिवालयमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काले अधिवेशनको तयारी पुरा भएको जानकारी गराउनुभयाे ।
सचिव खड्काले सर्वदलीय बैठक बस्नुपर्ने, सम्भावित कार्यसुची निर्माण, सांसदहरुलाई स्वागत तथा सपथ ग्रहण गर्नुुपर्ने, सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने, संसदीय दलको व्यवस्था गर्नुपर्ने, प्रथम प्रदेश सभाको विषयहरु, कार्य सञ्चालन विषय र अधिवेशन आह्वान लगायतका विषयहरुको तयारी भएको बताउनुभयो । प्रदेशसभा सचिवालय पुरानै भवनमा रहने सचिव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले प्रदेशसभाको पुरानै भवनलाई मर्मत तथा रङरोगन गरिएको छ । यस्तै कुर्सीहरुको ब्यवस्थापन तथा हलमा फलसिलिङको काम गरिएको उहाँले बताउनुभयो । सचिव खड्काले भौतिक पुर्वाधारमा बागमती प्रदेश अन्य प्रदेशभन्दा कमजोर रहेको बताउनुभयो ।
१ सय १० सदस्यीय प्रदेश सभामा बागमती प्रदेशमा नेपाली कांग्रेसले ३७ सिट, एमाले २७ सिट, माओवादी केन्द्रले २१ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ सिट पाएको छ । बागमती प्रदेशमा पहिलो दल नेपाली कांग्रेस रहेको छ । यसअघि पहिलो दल रहेको नेकपा एमाले दोस्रो दल बनेको छ । बागमती प्रदेशमा गठबन्धनकै सरकार बन्ने देखिएको छ ।