मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सन्तुलित विकासका पक्षमा ध्यान दिन सुझाव दिनुभएको छ । बिहीबार जिल्लाका ८ वटा स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुको सपथग्रहण कार्यक्रममा उहाँले सन्तुलित विकासको अवधारणा अनुसार काम गर्न सुझाव दिनुभयो ।
कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुहुँदै प्रमुख खुलालले अघिल्ला जनप्रतिनिधिहरुले गरेका राम्रा कामलाई निरन्तरता दिँदै अगाडी बढ्न र सम्मुनत मकवानपुर निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहाँले विकासको अवधारणालाई परिवर्तन गर्दै भौतिक विकास मात्र नभई सामाजिक चेतना बृद्धि गर्नेतर्फ समेत ध्यान दिन सुझाव दिनुभएको छ । सन्तुलित विकासको अवधारणा अनुसार भौतिक, सामाजिक र आर्थिक विकासमा सक्दो ध्यान दिएर दिगो विकास र सुशासन सहितको समृद्ध मकवानपुर निर्माणमा अग्रसर हुन सुझाव दिनुभयो ।
गत बैषाख ३० गते सम्पन्न निर्वाचन अन्तरगत मकवानपुर जिल्लाका विभिन्न आठ स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मकवानपुरका मुख्य निर्वाचन अधिकृत (जिल्ला न्याधिश) डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराउनु भएको थियो । श्रेष्ठले इन्द्रसरोबर गाउँपालिका प्रमुखमा निर्वाचित देवकृष्ण पुडासैनी, भीमफेदी हिदम लामा, राक्सिराङ राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा, बकैया गाउँपालिका प्रमुख धर्म लामिछाने, थाहा नगरपालिका मेयरमा निर्वाचित प्रमुख बिष्णुबहादुर बिष्ट, मनहरी गाउँपालिका अध्यक्षमा निर्वाचित रञ्जन कालाखेती र कैलाश गाउँपालिका अध्यक्षमा निर्वाचित लोक बहादुर मोक्तानलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
जिसस प्रमुख खुलालको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका जिल्ला स्थित प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।