हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको १४ औं नगरसभा शनिबार सम्पन्न भएको छ । हेटौंडा–१८ गुम्बाडाँडामा भएको नगर सभाले चालु आर्थिक बर्ष २०८०÷०८१ को बजेटलाई संशोधन गरेर ३ अर्ब नजिक पु¥याएको छ ।
उपमेयर राजेश बानियाँले प्रस्तुत गर्नुभएको संसोधन सहितको २ अर्व ९० करोड ६२ लाख ९० हजार रुपियाँको बजेट पारित गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक बर्षका लागि गत असारमा २ अर्व ६८ करोड ६० लाख १० हजार रुपियाँ बराबरका बजेट ल्याएको थियो ।
आन्तरीक राजश्व संकलनमा देखिएको प्रगतिको आधारमा चालु आर्थिक बर्षको संसोधित बजेटमा २२ करोड २ लाख ८० हजार बजेट थप गर्दै कार्यान्वयनमा ल्याउने तयारी थालेको छ । चालु आर्थिक बर्षको ६ महिनाको राजश्व संकलनमा लक्ष्य अनुसारको आधा पुरा भैसकेको बजेट प्रस्तुतिका क्रममा उपप्रमुख बानियाँले बताउनुभयो । चालु आर्थिक वर्षकोलागि कुल ३० करोड ९४ लाख राजस्व संकलनको लक्ष्य राखेकोमा पौष १५ गतेसम्म १५ करोड ४५ लाख रुपियाँ संकलन भएको प्रतिवेदनमा उल्लेख छ । अहिले सम्म ५० प्रतिशत राजश्व संकलन भएको र गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालू आर्थिक वर्ष ८ प्रतिशतले राजस्व संकलन वृद्धि भएको उल्लेख छ ।
प्रस्तुत प्रतिवेदन अनुसार पूर्वाधार क्षेत्र तर्फ नगरस्तरीय ६२ आयोजना र वडास्तरीय ९५६ आयोजना गरी जम्मा १ हजार ११८ योजना रहेकोमा हालसम्म नगरस्तरीय १५ वटा आयोजना र वडा स्तरीय २१७ वटा योजना सम्झौता भैसकेको उल्लेख छ । सम्झौता भएका योजना मध्ये ३२ वटा सम्पन्न भएको र अन्य ९८६ वटा आयोजना कार्यान्वयनको चरणमा रहेको बताइएको छ ।
गत आर्थिक वर्षको जिम्मेवारी सरी आएका योजनाहरु मध्ये ११० वटा योजनाहरु सम्पन्न भई सकेका छन् भने ६१ वटा सम्पन्न हुने क्रममा रहेको उल्लेख छ । पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगतितर्फ प्रथम चौमासिकमा कंक्रिट सडक २ किलोमिटर, कालोपत्रे ३५५ मीटर, शैक्षिक पूर्वाधार तर्फ १ वटा, सांस्कृतिक जगेर्ना तर्फ गुम्बा निर्माण तर्फ २ वटा, मन्दिर निर्माण तर्फ ५ वटा, मदरसा १ वटा र यात्रु प्रतिक्षालय १ वटा निर्माण भैसकेको उल्लेख छ । मेयर मीनाकुमारी लामाको अध्यक्षतामा भएको १४ औं नगर सभाले संसोधित नीति, कार्यक्रम तथा बजेट एवम् बिभिन्न ऐनहरु सर्बसम्मत पारीत गरेको छ ।