हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडाको सडकका नाममा राजनीति नगर्न उद्योग वाणिज्य संघ मकवानपुरलाई आग्रह गरेका छन्। शनिवार हेटौंडामा उद्योग वाणिज्य संघको ५७औँ वार्षिक साधारणसभामा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले आफू व्यक्तिगत रुपमा सडक भत्काउनुपर्छ भन्ने पक्षमा रहेको बताएका हुन्।
‘व्यक्तिगत रुपमा सडक भत्काउनु पर्छ भन्ने पक्षमा म छु। तर यो मेरो क्षेत्राधिकार हाइन। सधैँ सडकको नाममा राजनिति हुन्छ नभत्काउने वा विकल्प खोज्ने हो भने उद्योग वाणिज्य संघले निर्णय गर्नुस्,’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘होइन भने सरकारकहाँ जानुस् धर्ना बस्नुस् र एउटा निर्णय लिएर आउनुस्। तर सधैँभरि सडकको नाममा राजनीति गर्न पाइँदैन, अब विकासको साझा काम हो सडक।’
विगतदेखि नै उद्योग वाणिज्य संघ मकवानपुर र सडक डिभिजन कार्यालयको टकरावका कारण हेटौंडाको सडक विस्तार अन्यौलमा थियो। बजार क्षेत्रका घरधनीहरुले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। सर्वोच्चले रिट निवेदन खारेज गरेसँगै हेटौंडा बजार क्षेत्रमा पर्ने पूर्व-पश्चिम राजमार्ग फराकिलो बनाउने कार्यका लागि डिभिजन सडक कार्यालयलाई बाटो खुलिसकेको छ।
अब सडक विस्तारसम्बन्धी कार्य कसरी अगाडि बढ्छ? भन्नेमा अन्योल देखिएको छ। सडक डिभिजन कार्यालय हेटौंडाले सर्वोच्चको पूर्णपाठ नआएसम्म प्रक्रिया अगाडि नबढ्ने जानकारी दिएको छ।
डिभिजन सडक कार्यालयले हेटौंडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गर्न गएको असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सूचना प्रकाशन गरी काम अघि बढाउने तयारी थालेको थियो। तर क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा घरधनीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।
करिब ३ सय जना घरधनीले दर्ता गराएको रिट निवेदन मंगलबार सर्वोच्च अदालतले एकसाथ खारेज गरेको हो। तर अझै उद्योग वाणिज्य संघले अटेर गरिरहँदा बागमतीका मुख्यमन्त्री जम्कट्टेल कड्किएका हुन्। प्रदेशको राजधानीमा साँघरो सडक भएकै कारण टिप्पणी हुने गरेको उनको धारणा छ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकारको दायरा ठूलो नहुँदा धेरै काम गर्न नसक्ने समेत बताए। उद्योगको क्षेत्रमा तालिम, कृषि क्षेत्रमा काम र उत्पादनमूलक सीप मात्र दिन सक्ने तर ठूला औधोगिक क्षेत्रको दायरा प्रदेश सरकासँग नभएको उनको भनाइ थियो।
उनले हस्तकला र घरेलु उद्योगलाई अगाडि बढाउन, उद्योग ग्राम निर्माणको चरणमा रहेको बताए। संसारका धेरै मुलुकहरुले नीति बनाउनु र लगानी गर्नुअघि आन्तरिक र वाह्य उत्पादन र निर्यातको आकलन गरेर मात्र उद्योग सुरु गरिने गरेको भएपनि नेपालमा भने त्यस्तो नभएको उनले बताए।
‘चामल मिल चाहिँ खोल्ने तर धान अन्तबाट ल्याउने जस्तो किसिमको परिपाटि छ। हचुवाको भरमा उद्योगहरु खुलेको कारण व्यवसाय धराशायी भएका छन्,’ उनले भने, ‘नेपाल कृषि प्रधान मुलुक हो। वैदेशिक भेटवार्ता भने राजनीति र व्यावसायिक भएको छ। उद्यमशिलता भनेको स्थानीय उत्पादनको उपज गर्नु हो।’ प्रदेश सरकारले ८५ वटा पालिकालाई उत्पादनको पकेट क्षेत्र तोक्ने तथा प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको उनले बताए। बिजमाण्डुबाट साभार ।