मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरले यही मंसिर ४ गते भएको निर्वाचनमा मकवानपुर जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यहरुलाई बधाई तथा शुभकामना गरेको छ । सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सानुकाजी लुईटेलले स्वागत गर्नु भएको थियो । कार्यक्रममा स्वागत गर्दै उहाँले नव निर्वाचित सदस्यहरुलाई सन्तुलित विकास संगै संघियतालाई थप संस्थागत बनाउनु पर्ने अभिारा आएको बताउनुभयो । उहाँले यस कार्यमा नवनिर्वाचित सांसदहरुले सफलता पाउनु हुने छ भन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख घलानले तीन तहको सरकारले सहअस्तित्व र सहकार्यको माध्यमबाट जनतालाई सार्वभौम सत्ता सम्पन्न र अधिकार सम्पन्न बनाउन भुमिका निर्वाह गर्नुपर्ने साथै नागरिकको आधारभुत आवश्यक्तालाई पुरा गर्ने तर्फ केन्द्रित भएर काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले मकवानपुरको समृद्धि र विकासकालागि हामी सबैले एक अर्कासंग सहकार्य र समन्वय सहअस्तित्व स्वीकार गर्दै अगाडी बढ्नु पर्ने समेत बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का दीपक बहादुर सिंह, क्षेत्र नम्बर २ का महेश बर्तौला, प्रदेश सभा सदस्य क्षेत्र नम्बर १(क) का प्रेम बहादुर पुलामी, १(ख)का एकालाल श्रेष्ठ, २ (क) का कुमारी मोक्तान र २ (ख)का ईन्द्र बहादुर बानियाँलाई स्वागत, बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, मकवानपुर गढी गाउँपालिकाका दोर्जे लामा स्याङ्तान, थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, शसत्र प्रहरी उपरिक्षक नेत्र बहादुर कार्की, विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिलगायतको उपस्थिति रहेको निमित्त समन्वय अधिकारी सुनिता कुामारी गजुरेलले जानकारी दिनुभयो ।












