नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीको ठूलो हिस्सा एमालेमा फर्किन लागेको बताउनु भएकाे छ । जनकपुरधाममा सोमबार आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले ठूलो हिस्सा एमालेमा फर्किएपछि माधवकुमार नेपाल पनि एमालेबाहेक अन्यत्र जाने ठाउँ नहुने बताउनुभयाे ।
‘माओवादीमा प्रवेश गरेपनि अलगै कम्युनिष्ट पार्टीको रुपमा अस्तिव जोगाउन गाह्रो छ । माओवादीमा प्रवेश गरेपछि जनयुद्धबाट सिर्जित पार्टीको सदस्य हुन आएको छु भन्नुपर्छ’ उहाँले भन्नुभयाे, ‘जनयुद्धलाई आधार मानेर हाम्रा नीति तथा कार्यक्रमहरु विघटित भएका छन् त्यो मानेर माधवजीलाई जानुपर्छ । तर, त्यो मान्न उहाँलाई गाह्रो छ । त्यसैले उहाँ जान पनि सक्नुहुन्न ।’
उपाध्यक्ष पाण्डेले अघि भन्नुभयाे, ‘तर हामीले पनि निमोठेर ल्याउँला भन्नुहुन्न । आउने साथीलाई बडो स्वागतका साथ पार्टीमा ल्याउनुपर्छ । जति धेरै मान्छे आउँछ त्यति राम्रो हुन्छ ।’ माओवादी केन्द्रका पनि केही नेताहरुसँग पार्टी प्रवेशको विषयमा कुराकानी भइरहेको उहाँले बताउनुभयाे ।
प्रचण्डले चीन पनि जान्छु भनेपछि मोदीले भेट्न मानेनन्
उपाध्यक्ष पाण्डेले भारत भ्रमणको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपरिपक्व व्यवहार देखाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन नसकेको टिप्पणी गर्नुभयाे । ‘प्रचण्डजीले भारत जाने क्रममा विमानस्थलमा सम्भवतः भारतबाट आउनेवित्तिकै चीन पनि जान्छु भन्नुभयो’ उहाँले भन्नुभयाे, ‘मोदीले त्यसो भए म पनि भेटदिनँ भनेर भन्नुभयो ।’ उहाँले यो घटनाबाट नेपालको राजनीतिमा बाहिरी शक्तिको प्रभाव रहेको पुष्टि हुने बताउनुभयाे । प्रचण्डले यस्तो बोल्नु उहाँको अपरिपक्व सोंच रहेको उपाध्यक्ष पाण्डेले बताउनुभयाे । उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवामा पनि अमेरिकाको छातामुनि रहनुपर्छ भन्ने अपरिपक्व सोच रहेको टिप्पणी गर्नुभयाे । ‘शेरबहादुरजीको अर्काे अपरिपक्व सोच अमेरिकाको छातामुनि रहेपछि केही पनि गर्नुपर्दैन भन्ने छ’ उहाँले भन्नुभयाे, ‘यी दुबै कुराले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र नेपाललाई बलियो बनाउने कुरामा बल पुग्दैन ।’











