सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोस्टम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ । एमालेले लामो समयपछि बैठक सञ्चालन भएकाले सबैले शून्य समयमा बोल्न पाउनुपर्ने भएपनि सभामुखले सांसदहरुलाई शून्य समय नदिएपछि संसदीय मर्यादा मिचेको भन्दै विरोधमा रोस्ट्रम घेराउ गरेको हो ।
एमालेले रोस्ट्रम घेराउ गरेपछि सभामुख भीमबहादुर भण्डारीले केहीबेरका लागि प्रदेशसभाको बैठक स्थगित गरेका छन् । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि लामो समयपछि प्रदेशसभा बैठक बसेकाले आफ्ना धारणा शून्य समयमा राख्न पाउनुपर्ने माग गरे । तर सभामुखले विशेष समय मात्र दिएको भन्दै उनले मर्यादामा ख्याल गर्न आग्रह गरेका छन् । २१ फागुनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएपछि शनिबार पहिलो पटक प्रदेशसभाको बैठक बसेको थियो ।