फाइल तस्विर

सरकारले २ सय जना भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित रहेका जिल्लाका सबै कार्यालयहरूले विद्युतीय माध्यमबाट मात्रै सेवा प्रवाह गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दुइ सय भन्दा बढी संक्रमित रहेका सबै जिल्ला तथा काठमाडौ उपत्यका भित्रका कार्यालयहरूमा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सकिने बाहेकका अन्य सेवा स्थगित गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी सम्बन्धित कार्यालयको सेवा प्रवाह तथा कार्यसम्पादन सहजीकरणका लागि कार्यालयमा बढीमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने र अन्य कर्मचारीले घरबाटै कार्य सम्पादनको व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता डा. खतिवडाले बताउनुभयो । मन्त्रिपरिषद्ले उपत्यका भित्रका तीन जिल्लाभित्र बाहेक २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाबाट अन्य जिल्लामा हुने सबै प्रकारका आवागमन स्थगित गर्ने र अत्यावश्यक कामका लागि मात्र स्थानीय प्रसाशन तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सबै यात्रुको परिचय तथा यात्रा प्रयोजन खुलाई प्रवेश अनुमति पत्र जारी गर्न सक्ने निर्णय गरेको छ ।

यसैगरी सरकारले स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकको सुविधाका लागि यस आगडि निर्धारण गरेको २० वटा प्रवेश विन्दुहरू घटाएर १० वटा मात्रै कायम राख्ने निर्णय गरको छ । झापाको काकडभित्ता, मोरङको रानी, सिराहाको माडर, रौतहटको गौर, पर्साको विरगञ्ज, रूपन्देहीको बेलहीया, कपिलवस्तुको कृष्ण नगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीलाई प्रवेश विन्दु तोकिएको मन्त्री डा. खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी सरकारले भदौ ३१ गते सम्म तोकिएको बाहेकका सबै अन्तराष्ट्रिय प्रवेश विन्दुहरूमा हुने अवागमन बन्द गर्ने र यस अगाडि भदौ १ गतेबाट सञ्चालनमा आउने भनिएका शैक्षिक संस्था, सैलुन, जिमहल, लामो दुरीका यातायात लगायतका सेवाहरू भदौ १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।