मकवानपुर– बागमती प्रदेश प्रहरी कार्यालयले आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने ६ जना प्रहरी कर्मचारीहरुलाई निलम्बन गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट गत साउन २१ गते खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसँग घुस रकम लिंदै गरेको अवस्थामा नियन्त्रणमा लिएको ५ जनालाई कर्मचारीलाई आज निलम्बन गरेको हो ।
निलम्बनमा पर्नेहरुमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत १ जना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निलम्बन पर्नेमा २ जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका सुचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो । सवारी चालकसँग विभिन्न वहानामा रकम लिर्दै गरेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिएर थप छानविनका लागि निलम्बन गरीएको उहाँले जानकारी दिनुभयो । प्रहरी निरिक्षक थापाका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी हवल्दार डोर बहादुर कार्की, प्रहरी जवानहरु कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गत ईलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरु जवान नबिन बहादुर थापालाई निलम्बन गरीएको हो । उहाँका अनुसार निलम्बनमा पर्ने प्रहरी कर्मचारीहरु जिल्ला प्रहरी कार्यालय सिन्धुली, ईलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मंगलटार, प्रहरी चौकी ढुंग्रेबास र अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमानमा कार्यरत रहेका थिए ।
निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ । आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको छ ।
त्यसैगरि बागमती प्रदेश प्रहरी कार्यालयले डियुटीमा बसेका प्रहरी कर्मचारीलाई बिभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस वापतको रकम सहित पक्राउ गरी कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने एक जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । आर्थिक प्रलोभनमा नपरी आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गरेको भन्दै कार्यालयले अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार ओम नारायण महतोलाई आज पुरस्कृत गरेको हो ।
डियुटीमा बसेका प्रहरीलाई बिलबुक भित्र ३०० रुपैया राखी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि घुस वापतको रकम र बलेरो गाडी चालक समेत नियन्त्रणमा लिई कार्बाहीको लागि बुझाएका प्रहरी हबल्दारलाई पुरस्कृत गरीएको तथा आर्थिक प्रलोभनमा पार्न खोज्ने बोलेरो चालकलाई नियमानुसार जरिवाना गरीएको सुचना समन्वय अधिकृत थापाले जानकारी दिनुभयो । बागमती प्रदेश प्रहरी कार्यालयले अभियानका क्रममा हालसम्म सेवाग्राहीसंग आर्थिक प्रलोभनमा पर्ने एक जना प्रहरी निरीक्षक सहित ११ जना प्रहरी कर्मचारी निलम्बित भैसकेका छन भने डियुटीमा ईमान्दारीता प्रर्दर्शन गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत गरेको थापाले जानकारी दिनुभयो ।