मकवानपुर – नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले सोनाम ल्होछारका अवसरमा ३ दिन सार्वजनिक विदा दिन माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेशमा सोनाम ल्होछारलाई मुख्य पर्वको रुपमा मनाउने तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको र यस समुदायले ५ दिनसम्म यो पर्व मनाइने प्रचलन रहेकाले कम्तीमा ३ दिन सार्वजनिक बिदा दिन माग गरिएको छ ।
नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, संघीय कमिटि सदस्य सुनिल मोक्तान, बागमती प्रदेश कमिटिका अध्यक्ष लिलाकुमार घलान, निवर्तमान अध्यक्ष सोमबल तामाङ, लगायतले मुख्यमन्त्री पाण्डेलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद बैठकमा उक्त विषय बारे छलफल गरि निर्णय गरिने प्रतिकृया दिनुभएको छ ।