मकवानपुर – मकवानपुरमा आईतबार सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सुरू भएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविमा प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक दुबैतर्फ एकसाथ मतगणना सुरू गरिएकाे मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । अहिले मकवानपुर क्षेत्र नम्बर १ अन्तरगत बागमती गाउँपालिकाको झुरझुरे बुथबाट मतगणना सुरु गरिएको छ ।
आइतबार सम्पन्न दुई प्रतिनिधिसभा, ४ प्रदेशसभा तथा समानुपातिक तर्फबो मत एकै पटक गणना सुरू भएकाे उहाँले बताउनुभयो । मतगणनाकोलागि ८ वटा काेठा तयार पारिएको छ । मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ । एक साता भित्रमा सबै नतिजा आइसक्ने उहँले बताउनुभयो ।
दुइ वटा प्रतिनिधि सभा र चार प्रदेशसभा मध्ये क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थलमा १७२ वटा मतदान केन्द्र रहेका थियो । भने, क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थलमा १९२ वटा मतदान केन्द्र रहेको थियो । जिल्लामा १ लाख ७८ हजार २ सय ८२ मत खसेको छ । यो कुल मतदाता संख्याका आधारमा ५९ प्रतिशत हो । ९२ हजार ८ सय ७७ पुरुष तथा ८५ हजार ४ सय महिला र अन्य ५ ले मतदान गरेका छन् । आइतबार राती करीब २ बजेसम्ममा सबै मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलमा आइपुगिसकेको थियो ।
मतगणनाको नतिजाको विवरण संकलनका लागि सूचना डेस्कको व्यवस्था गरिएको छ । मतपरिणामको जानकारी दिन आधिकारिक व्यक्ति तोकिएको र ‘वान डोर सिस्टम’बाट मात्र सूचना प्रवाह हुने बताईएको छ । मकवानपुरको दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार छन् भने क्षेत्र नम्बर २ मा १० जना उम्मेदवार छन् । यस्तै प्रदेश सभा १ को (क) मा १० जना, (ख) मा १५ जना उम्मेदवार छन् । यस्तै २ को (क) मा ८ जना र (ख) मा १० जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।