मकवानपुर – मकवानपुरमा रहेको दुई वटै क्षेत्रको मतगणना सुरु भएको छ । आज दिउँसो १२ बजेबाट क्षेत्र नम्बर १ को मतगणना सुरु भएको थियो भने दिउँसो १ बजेबाट क्षेत्र नम्बर २ को मतगणना सुरु भएको हो ।
प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष निर्वाचनको मतगणना सुरु भएको छ । मकवानपुर क्षेत्र नम्बर १ को बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेबाट मतगणना सुरु गरिएको हो । आइतबार सम्पन्न प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लामा १ लाख ७८ हजार २ सय ८२ मत खसेको छ । ९२ हजार ८ सय ७७ पुरुष तथा ८५ हजार ४ सय महिला र अन्य ५ जनाले मतदान गरेक थिए । यो कुल मतदाता संख्याको ५९ प्रतिशत हो ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा कुल मतदाता एक लाख ५० हजार १५५ रहेकोमा महिला ४५ हजार ४५६, पुरुष ४६ हजार १२३ र अन्य चार गरी ९१ हजार ५८३ अर्थात् ६०.९९ प्रतिशतले मतदान गरेका छन् । यस्तै निर्वाचन क्षेत्र नं २ मा कुल मतदाता एक लाख ५० हजार ५७८ मतदाता रहेकोमा ४६ हजार ७२३ पुरुष र ३९ हजार ९२९ महिला गरी ८६ हजार ६५२ अर्थात् ५७.५८ प्रतिशत मतदाताले मतदान गरेका थिए । १० स्थानीय तह रहेको मकवानपुरमा १६७ मतदान स्थल र दुई अस्थायीसहित ३६६ मतदान केन्द्रमा मतदान भएको थियो ।
जिल्लाको प्रतिनिधि सभा सदस्यमा निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १७ जना र क्षेत्र नं. २ मा एक स्वतन्त्रसहित १० जना प्रतिस्पर्धामा छन् । यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा दुई स्वतन्त्रसहित १० जना र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा छ स्वतन्त्रसहित १५ जना तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ मा तीन स्वतन्त्रसहित आठ जना र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा छ तीन स्वतन्त्रसहित १० जना प्रदेश सभा सदस्यमा उम्मेदवार रहनुभएको छ ।