बुटवलः देशभरका पार्क (उद्यान) हरूले भोग्नु परेको कानुनी जटिलता र नीतिगत समस्याको पहिचान र समाधानका लागि साझा पहल गर्ने उद्देश्यसहित बुटवलमा दुई दिने राष्ट्रिय पार्क सम्मेलन शुरु भएको छ । बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को आयोजनामा बुटवलमा भएको सम्मेलनको पुर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्नुभयाे ।

सम्मेलन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहनु भएका पौडेलले ऐन कानुनको अभावमा सामुदायिक वनभित्र सञ्चालित पार्कहरुले समस्या र द्वन्द्व झेल्नुपरेको औंल्याउनुभयाे । मानिसको शारीरिक र मानसिक स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा पार्कहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारले कानून बनाएर वैज्ञानिक ढंगले दीगो व्यवस्थापनको बाटो खोल्नुपर्ने पौडेलले बताउनुभयाे । पार्कहरुको विशिष्टिकरण र वर्गीकरण आवश्यक रहेको सुझाव दिंदै पौडेलले सिंगो नेपाललाई उद्यानै उद्यानको देश बनाउन सकिने बताउनुभयाे । उहाँले सरकारले कानून निर्माणमा बेवास्ता गरे निजी क्षेत्रबाट गैर सरकारी विधेयक दर्ता गरेर पनि कानून बनाउन सकिने बताउनुभयाे ।

फरक प्रसंगमा पुर्व अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा पुगेकाले सरकारले प्रमुख प्रतिपक्षी लगायत सबै दल र विज्ञहरुसंग छलफल गरेर फजुल खर्च कटौति गरी राजस्वले चालु खर्च धान्नेगरी वजेट बनाउनुपर्ने बताउनुभयाे ।
सम्मेलनमा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरी, बागमति प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुइटेल, शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जुवल कसजूलगायतले धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसंग हुने विवाद र द्वन्द्व अन्यका लागि स्पष्ट कानुन बनाउन सम्मेलनले दवाव दिने बताउनुभयाे ।

सम्मेलनमा पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानुनी जटिलताका विषयमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले छुट्टाछुट्टै कार्यपत्र पेश गर्नु भएकाे छ । सम्मेलनमा समुदायबाट सञ्चालित पार्कहरुलाई लगाइएको मुल्यअभिबृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माण कार्यका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि छलफल गरी बुटवल घोषणपत्र समेत जारी गर्ने सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले बताउनुभयाे । सम्मेलनले पार्कहरुको राष्ट्रिय सञ्जाल पार्क महासंघ गठन गरी नेतृत्व समेत चयन गर्ने सिलवालले बताउनुभयाे ।