मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश मातहतमा प्रहरी प्रशासन सञ्चालनको जिम्मेवारी नआउँदा समस्या भएको बताउनु भएको छ । हेटौंडामा मंगलबार आयोजित एक कार्यक्रममा उहाँले प्रहरी प्रशासन बिनाको सरकारको अर्थ नभएको बताउनुभयो ।
प्रदेश सरकार सञ्चालन अनुभव र संघीयता कार्यान्वनयको आरोह–अवरोह सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भन्नुभयो ‘सरकार छ, तर, प्रहरी प्रशासन छैन भने त्यसको अर्थ हुँदैन,’ । लामो समयदेखि संघ र प्रदेश सरकारबीच प्रहरी समायोजन र निजामती कर्मचारी ऐनको विषयलाई लिएर समस्या सिर्जना भइरहेको उहाँले भन्नुभयो ।
बागमती प्रदेशले प्रहरी समायोजनलाई ध्यानमा राखेर प्रहरी भवन र प्रहरी ऐनसमेत निर्माण गरिसकेको उहाँले बताउनुभयो । तर, प्रहरी समायोजनको विषय नटुंगिँदा समस्या हुँदै आइरहेको उहाँको भनाई थियो । सो अवसरमा उहाँले संघीयता कार्यान्वयनको अवस्थाका बारेमासमेत सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । ‘हामी संघीयता कार्यान्वयनको अभ्यासको क्रममा छौं । धेरै चुनौती र समस्या रहेका छन् । हामीले सात वर्ष सरकार चलाइसकेका छौं । संघीयताको महत्व कायम राख्न पनि एकल र साझा अधिकार सूचीमा समावेश भएका विषयहरु टुंग्याउन जरुरी छ ।’ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री लामाले संघीयता लागू भएसँगै केही परिवर्तन भएको तर, जनताले चाहे जस्तो परिवर्तन भने नभएको बताउनुभयो । ‘जनताको आकांक्षा र इच्छा धेरै छ । त्यसको व्यवस्थापन गर्न अहिलकै साधन र स्रोतबाट गाह्रो छ ।’ उहाँले प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार एकल अधिकार सूचीका विषय पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले दाबीसमेत गर्नुभयो । उहाँले प्रदेश सरकारले आवश्यक कानुन निर्माण गरिसकेको भन्दै हालसम्म ८० वटा ऐन, कानुन बनाइसकेको बताउनुभयो ।