वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि उम्मेदवारको मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ । आज दिउँसो २ बजेसम्म २१ हजार ९ सय ९८ जनाले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । हिजो बिहान १० बजेबाट सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा शुरु भएको मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म जारी रहने र आजै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने सहप्रवक्ता अर्यालले बताउनुभयो ।
वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते नै मनोनयन भएको उम्मेदवारको नामावली प्रकाश गर्ने, वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाश गर्ने र वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका सहित ७ सय ५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र अन्य सदस्य गरी ३५ हजार २ सय २१ पदका लागि निर्वाचन हुन लागेको हो ।