हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब रु. छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ । प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाट अन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिवापत रकम प्रदान गर्न लागिएको हो ।
नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तह अन्तर्गत आयोजना प्रभावितहरुलाई रु. पाँच करोड ८२ लाख ६४ हजार १७८ प्रदान गर्न लागिएको आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले बताउनुभयो । 
नवलपुरका गैँडाकोट, देवचुली, कावसोती, मध्यविन्दु र  विनयी त्रिवेणीका ४७ घर, टहरा तथा ६७ जग्गाधनीका रुखबिरुवाको क्षतिपूर्तिस्वरुप रकम प्रदान गर्न लागिएको छ । जसअनुसार ४७ घर, टहराको क्षतिपूर्तिवापत रु. पाँच करोड ७१ लाख ६२ हजार ५०० र ६७ जग्गाधनीका रुखबिरुवाको क्षतिपूर्तिवापत रु. ११ लाख एक हजार ६७८ रकम प्रदान गर्न लागिएको आयोजना प्रमुख जैसवालले बताउनुभयो ।  
नवलपरासीपूर्व नवलपुरको गैँडाकोट नगरपालिमा १६ घर, देवचुली नगरपालिकामा तीन घर, कावासोती नगरपालिकामा १८ घर, मध्यविन्दु नगरपालिकामा छ र विनयी त्रिवेणी गाउँपालिकामा चार घर प्रसारण लाइनको क्षेत्रभित्र परेका छन् । क्षतिपूर्ति निर्धारण समितिले उपलब्ध गराउनुपर्ने घरधनी, रुख बिरुवा पर्ने व्यक्तिको नाम र रकम निर्धारण गरिसकेकाले आयोजनाबाट रकम निकासा भएपछि चाँडै नै आयोजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिने छ । रासस