हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाका दुई बस्ती जोड्न झोलुङ्गे पुल निर्माण सुरू भएकाे छ । भीमफेदी गाउँपालिका–५, स्थित दमार र सोलाभन्ज्याङ बस्ती जोड्ने झोलुङ्गे पुलको आइतबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष हिदम लामाले शिलान्यास गर्नुभएकाे हो ।
एउटै वडाका दमार र सोलाभन्ज्याङवासीलाई वर्षायाममा आवतजावत गर्न जोखिम हुनुका साथै वर्षायाममा विद्यार्थीहरु थप जोखिममा रहने हुँदा गाउँपालिका र संघीय सरकारको ५१ लाख रुपैयाँकाे संयुक्त लगानीमा पुल निर्माण गर्न लागिएकाे अध्यक्ष लामाले बताउनुभयाे । १ सय १४ मिटर लामाे झोलुङ्गे पुल निर्माणपछि स्थानीयवासी जोखिममुक्त भई सहज यात्रा गर्न पाउने उहाँले बताउनुभयाे । झोलुङ्गे पुल निर्माण कार्य २०७९ साल असार मसान्तसम्ममा सक्नुपर्ने गरी निर्माण कम्पनिसँग सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीमलाल महर्जनले बताउनुभयाे ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शुक्र स्याङ्तानको सभाध्यक्षता तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना योजना अधिकृत बद्री सापकोटालगायतकाे उपस्थिति रहेको थियो ।