हेटाैंडा– बागमती प्रदेश सरकारले क्यान्सरका बिरामीलाई ५० हजार रुपैयाँ बराबरको उपचारमा छुट दिने भएको छ । बागमती प्रदेशभित्र स्थायी बसोबास भएका क्यान्सरका बिरामीले उक्त छुट पाउने भएका हुन ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालबीच बिहीबार सो सम्बन्धी सम्झौता भएको छ । मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईका अनुसार नेपाल सरकारले दिंदै आएको एक लाख रुपैयाँ पर्याप्त नभएको भन्ने गुनासो आएपछि प्रदेश सरकारले थप ५० हजार उपलब्ध गराएको हाे । प्रदेश सरकारले बजेटमा नै यो व्यवस्था गरेको बताउँदै उहाँले भन्नुभयो “बागमती प्रदेशभित्रका वासिन्दाले क्यान्सरको उपचार गराउँदा अब ५० हजार बराबरको छुट पाउँछन् ।” उहाँले बिरामीले अस्पतालबाट ५० हजार रुपैयाँ बराबरको छुट पाउने र उक्त रकम अस्पताललाई उपलब्ध गराईने जानकारी दिनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार क्यान्सर उपचारमा लाग्ने खर्चमा नेपाल सरकारले दिंदै आएको एक लाखमा बागमती प्रदेश सरकारले थप ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । क्यान्सरको उपचार गराएका र बागमती प्रदेशभित्र स्थायी बासिन्दालाई यो सुविधा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।