मकवानपुर– अखिल नेपाल फुटबल संघ (एन्फा) को १३ वर्षभन्दा कम उमेर (यु–१३)का खेलाडी छनौट कार्यक्रम अन्तरगत मकवानपुरबाट ३२ जना खेलाडीहरु छनौट भएका छन् । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको छनौट कार्यक्रममा जिल्लाका ३२ जना खेलाडी छनौट भएका हुन् ।
गत मंगलबारबाट सुरु भएको छनौट कार्यक्रममा २०६५ साल असोज १५ गतेदेखि २०६६ असोज १४ गतेसम्म जन्मेका किशोर खेलाडीहरुले जन्मदर्ता प्रमाणपत्र संलग्न गरी फारम भरेका थिए । छनौट कार्यक्रममा सहभागी भएका ७० जनाबाट ३२ जना छनौट भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले जानकारी दिनुभयो । छनौट भएका खेलाडीहरुलाई केही समयको प्रशिक्षणपछि थप प्रशिक्षणका लागि एन्फामा लगिने बताइएको छ । एन्फाको वार्षिक क्यालेन्डर अनुसार खेलाडी छनौट भएको हो ।