बागमती प्रदेशका मुख्यमन्त्री डोमणि पौडेलले नेपाल सरकार मन्त्रीपरिषदको आजको निर्णय नेपाली इतिहासमा गर्विलो दिनको रूपमा लेखिने बताउनुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारिएको नेपालको नक्सा पारित गरेपछि मुख्यमन्त्री पौडेलले सामाजिक सञ्जाल मार्फत यस्तो बताउनुभएको हो ।
उहाँले सोमबारको निर्णय नेपाली जनताको स्वाभिमान उच्च राख्न निक्कै नै महत्त्वपूर्ण रहेको बताउनुभएको छ । ऐतिहासिक निर्णयका लागि मुख्यमन्त्री पौडेलले नेपाल सरकारलाई धेरै धेरै धन्यवाद समेत दिनुभएको छ । उहाँले भन्नुभएको छ – “आजको यो दिन नेपाली इतिहासमा निक्कै गर्विलो दिनको रूपमा लेखिने छ । नेपाली भूमि भइकन पनि हिजोको दिनमा नेपालकै नक्साबाट हटाइएको क्षेत्र समेटेर नक्सा जारीगर्ने सरकारको निर्णय नेपाली जनताको स्वाभिमान उच्च राख्न निक्कै नै महत्त्वपूर्ण छ । यो निर्णयले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार राष्ट्र र राष्ट्रियता प्रति समर्पित र संवेदनशील छ भन्ने कुरा दर्शाउछ ।”
मुख्यमन्त्री पौडेलले कालापानी, लिपुलेक हाम्रो हो, लिम्पियाधुराबाट निस्किएको काली नदी नेपालको सिमाना हो भन्दै यसमा कसैले गिद्धे आँखा नलगाए हुन्छ भन्नुभएको छ । उहाँले सार्वभौम सत्ता र राष्ट्रिय स्वाभिमान हरेक देशको बराबर हुन्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई सिद्ध भएको समेत उल्लेख गर्नुभएको छ । उहाँले भन्न्ुभएको छ– “अर्थतन्त्र, क्षेत्रफल र जनसंख्याका हिसाबले देशहरू साना र ठूला होलान्, तर सार्वभौम सत्ता र राष्ट्रिय स्वाभिमान हरेक देशको बराबर हुन्छ भन्ने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको उद्दरण आज सिद्ध भएको छ । कालापानी हाम्रो हो , लिपुलेक हाम्रो हो , लिम्पियाधुराबाट निस्किएको काली नदी हाम्रो सिमाना हो । कसैले गिद्धे आँखा नलगाए हुन्छ ।”
Home प्रदेश बागमती प्रदेश मन्त्रीपरिषदको आजको निर्णय नेपाली इतिहासमा गर्विलो दिनका रूपमा लेखिने छ–मुख्यमन्त्री पौडेल