आउँदो अगष्ट १ तारिखदेखि विश्व टेस्ट क्रिकेट च्याम्पियनिसप सुरु हुने भएको छ । आईसीसीले इंग्ल्याण्ड र अस्ट्रेलियाबीच सुरु हुने एसेज शृंखलालाई च्याम्पियनसिपको शुरुवात खेलको रुपमा घोषणा गरेको हो ।

पछिल्लो समय सीमित ओभरको क्रिकेटले चर्चा बटुलेका बेला टेस्ट क्रिकेटलाई जोगाउन पनि आईसीसीले यो च्याम्पियनसिप गराउन लागेको हो । अगष्ट १ तारिखबाट सुरु हुने टेस्ट क्रिकेट च्याम्पियनसिपको फाइनल भने सन् २०२१ मा इंग्ल्याण्डमा हुनेछ । पहिलो पटक सुरु हुन लागेको टेस्ट च्याम्पियनसिपमा ९ टिमको सहभागिता रहेको छ । ९ टिमले ६ वटा सिरिज खेल्नु पर्नेछ र त्यसका आधारमा शीर्ष दुई टिमबीच फाइनल हुनेछ । टेस्ट वरियतामा रहे पनि भारत र पाकिस्तानले भने सिरिज खेल्ने छैनन् ।

आईसीसीले टेस्ट च्याम्पियनिसप सञ्चालन गर्ने भनेर सन् २०१० मा स्वीकृति दिएको थियो । तर सन् २०१३ मा सुरुवात गर्ने भनिए पनि सुरु हुन सकेन । तर अब अगष्ट १ तारिखदेखि सुरु हुन लागेको छ ।

अहिले १२ वटा देशले टेस्ट खेल्ने गरेको भए पनि यो च्याम्पियनसिपमा ९ टिमले मात्र भाग लिन पाउने छन् । आएरल्याण्ड र अफगानिस्तानले यसमा प्रतिस्पर्धा गर्ने छैनन् भने जिम्बाबेलाई आईसीसीले प्रतिबन्ध लगाएकाले ऊ पनि प्रतियोगितामा सामेल हुनेछैन । ९ टिमले ६ सिरिज मध्ये ३ वटा सिरिज आफ्नै देशमा र ३ वटा सिरिज विदेशी भूमिमा खेल्नु पर्नेछ । टेस्ट च्याम्पियनसिपको फाइनल सन् २०२१ को जुनमा हुनेछ ।

एउटा सिरिज बराबर १२० अंक तोकिएको छ । जसबाट २ वर्षका बीचमा एउटा टिमले सर्वाधिक ७२० अंकसम्म ल्याउने छ । पाँच टेस्टको सिरिज छ भने एक खेल बराबर २४, चार टेस्टको सिरिज छ भने ३०, दुई टेस्टको सिरिज भए एक खेल बराबर ६० अंक हुनेछ । यसरी शीर्ष दुई टिमका बीचमा फाइनल हुनेछ । हालै सम्पन्न आईसीसी विश्वकप जस्तै फाइनल बराबर भएमा सुपर ओभरको प्रावधान राखिने छैन । त्यतिबेला समूह चरणको नतिजाका आधारमा विजेता घोषणा गरिने छ ।