मकवानपुर, चैत्र २४ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा आठौं संस्करणको ‘बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता’ वैशाख १७ गतेदेखि सुरु हुने भएको छ । आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै वैशाख १७ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।
बागमती गाउँपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ । स्थानीय झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता चर्च ब्वाइजसहित ए डिभिजन क्लबहरु मच्छिन्द्र, सशस्त्र प्रहरीको एपीएफ, त्रिभुवन आर्मी क्लब, फ्रेण्डस क्लब र प्लानिङ ब्वाइजको सहभागिता रहनेछ । भने, मोफसलबाट सर्लाहीको बागमती युवा क्लब र सिमराको नवजनजागृति युवा क्लब साथै मलेसियाको पेनाङ एफसीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिनुभयो । उहँँका अनुसार विदेशी खेलाडीका लागि अनिवार्य ’वर्क परमिट’ को नियम लागू गरिएको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । भने, विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको जनाईएको छ । भने, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख र खेलको ’म्यान अफ दी म्याच’ ले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।











