मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हेटौंडा–९, स्थित मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । शनिबार जिसस प्रमुख रघुनाथ खुलालले आश्रममा आश्रितहरुका लागि खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सहयोगापेक्षी (वेसहारा, अशक्त, असाहय, अभिभावकविहिन) सडकआश्रित मानवहरुको सेवाको लागि प्रमुख खुलालले ५० बोरा चामल, २ बोरा दाल, १ बोरा नुन प्रदान गर्नुभएको हो । कोरोनाको कहरले निम्त्याएको लकडाउन र मानवीय सेवामा असहजता भएको जानकारी प्राप्त भएपछि आश्रमलाई सहयोग उपलब्ध गराईएको प्रमुख खुलालले जानकारी दिनुभयो । आश्रमलाई जिसस प्रमुख खुलालले यस अघि पनि सहयोग उपलब्ध गराउँदै आउनुभएको छ । साथै जिससले मानव सेवा आश्रममा क्वारेन्टाई निर्माण गरेर व्यवस्थापकिय कार्य समेत गर्दै आएको छ ।
सो अवसरमा मावन सेवा आश्रमले प्रमुख खुलालसहित सम्पुर्ण जिसस पारिवारलाई धन्वाद व्यक्त गरेको छ । कठिन समयमा प्राप्त सहयोगले मानव सेवामा ठूलो सहजता थपिएको आश्रमले जनाएको छ । हेटौंडा स्थित मानवसेवा आश्रमको मुख्यालयमा हाल दैनिक १६० जाना विभिन्न उमेर समूहका आश्रितहरु तथा अभियन्ता गरि १८० जाना रहेको जनाएको छ ।