मकवानपुर– जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा रहेका क्वारेन्टाइन तथा आइसोलेशन तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले छिमेकी मुलुक भारतलगायत विभिन्न देशमा कारोना संङक्रमण पुनः फैलिदै गएपछि पूर्व सावधानी अपनाउँदै जिल्लामा यसअघि सञ्चालनमा आएका क्वारेन्टाइन तथा आइसोलेशन तयारी अवस्थामा राख्न अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै यसअघि सञ्चालनमा आएका क्वारेन्टाइन तथा आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न १० ओटै स्थानीय तह र हेटौंडा अस्पताललाई अनुरोध गर्ने निर्णय गरेको हो । साथै जिल्लाका सबै स्थानीय तहहरु र स्वास्थ्य केन्द्रहरुबाट प्रदान गर्ने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्ने, एवम् संक्रमण फैलिन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रसारण गर्ने व्यवस्था समेत मिलाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले जिल्ला प्रवेश गर्ने मुख्य नाका रातोमाटेमा हेल्थ डेस्क संचालन गर्ने तथा जिल्ला भित्र मेला, महोत्सव, नयाँ वर्ष तथा चाड पर्वहरुमा भीडभाड नगर्न तथा जनस्वास्थ्यको मापदण्डहरु पालना गर्न सबैमा अनुरोध गर्ने निर्णय गरेको छ । बैठकमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सल्लाहाकार समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायत समितिका पधाधिकारीहरुको सहभागिता थियो ।
DCCMC_Nirnaya_2077_12_20