मकवानपुर– प्रदेश नम्बर २ का विभिन्न जिल्लाबाट बागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने नाकामा आजबाट सुरक्षा व्यवस्था थप कडा पारिएको छ । प्रदेश २ मा हाल सम्म ९५ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भए पछि ती जिल्लाबाट रातोमाटे नाका हुँदै प्रवेश गर्ने सवारी साधन र मानिसको प्रवेशमा रोक लागईएको हो । हेटौंडामा अत्यावश्यक सवारी साधनलाई भने रातोमाटे चेकपोष्टमा सेनिटाइजिङ गरेर मात्र प्रवेश गर्न दिईएको छ ।
अत्यावश्यक बाहेकका अन्य सबारीसाधन तथा कोहिपनि मानिसहरु हेटौँडा प्रवेश गर्न रोक लगाउन रातोमाटे चेकपोष्ट भन्दा तल चुरीयामाई मन्दिर नजिकै पुर्वपश्चिम राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौँडासँग जोडिएको प्रदेश २ को नाका समेत रहेको उक्त क्षेत्रबाट कोरोना संक्रमितहरु हेटौँडा प्रवेश गर्ने संभावना बढेपछि आजबाट उक्त क्षेत्रमा कडाई गरेको हो । प्रदेश २ बाट रातोमाटे नाका भन्दा मुनी चुरीयामाई मन्दिर आसपासबाट लुकिचोरी हेटौंडा प्रवेश गर्नेको संख्या बढेकाले आजबाट चुरीयामाई मन्दिर नजिकै सुरक्षाकर्मी तैनाथ गरेर प्रवेशमा पुर्ण रोक लगाइएको जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
आज बिहान जिसस प्रमुख खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, सुरक्षा प्रमुख सहितको टोली उक्त स्थानमा पुगेर सिमा नाकामा थप कडा गर्न निर्देशन दिनुभएको छ । आज बिहान अत्यावश्यक बाहेकका अन्य सवारी साधन, सवारी चालक र सहचालक बाहेक बढी यात्रु बोकेर आएका अन्य सवारी साधन, तथा मानिसहरुलाई फिर्ता पठाईएको प्रमुख खुलालले जानकारी दिनुभयो । यस अघि हिजो जिसस प्रमुख खुलालकै अग्रसरतामा बसेको सुरक्षा समितिसहित सरोकारवालाहरुको बैठकले ती जिल्लाबाट हेटौंडा प्रवेशमा कडाई गर्ने निर्णय गरेको थियो ।
हिजोको बैठकले वाहिरी जिल्लावाट हुने मानिसहरुको आवत जावत पुर्णरुपमा रोक लगाउने र संक्रमित जिल्लावाट कामदार तथा श्रमिकहरु नल्याउने साथै मालवाहक सवारी साधनहरुमा चालक र सहचालक वाहेक अन्य व्यक्तिहरु चढ्न नपाईने निर्णय गरेको थियो । साथै हेटौंडा वजार क्षेत्रमा खाद्यान्न,औषधी, विउ विजन, ग्यास र रासाायनिक मलको पसल वाहेक अन्य पसलहरु अर्को निर्णय नभए सम्मका लागि वन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै संक्रमित जिल्लाहरुवाट तरकारी, फलफुल माछा मासु जन्य वस्तुहरु आयातमा रोक लगाउने, हेटौंडा १० स्थित वसपार्कमा रहेको तरकारी वजार भोलीबाट अर्को निर्णय नभए सम्मका लागि वन्द गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । साथै बैठकले प्रदेश २ संग सिमा जोडिएका मकवानपुरका स्थानीय तहहरुका वडाअध्यक्षहरुको नेतृत्वमा टोलविकास संस्था र अन्य संघसंस्थाहरुको समेत सहभागितामा राजमार्ग बाहेकका स्थानमा कडा निगरानी गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । प्रदेश नम्बर २ मा संक्रमण बढे पछि बागमती प्रदेश सरकारको मन्त्रीपरिषदको हिजोको बैठकले दक्षिणी नाका पुर्ण रुपमा सिल गर्न संघीय सरकारलाई आग्रह समेत गरेको छ । साथै कोरोनाको जोखिक बढ्दै गएपछि सर्व साधारणलाई जानकारी गराउन हेटौंडा उपमहा नगरपालिका लगायत सवै आ–आफ्नो स्थानवाट उपरोक्त निर्णय अनुसार मात्र कार्य गरि गराई कोभिड १९ को माहामारी संग वच्न वचाउन सवैमा आव्हान समेत गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।