चालु आर्थिक वर्ष २०८०/८१ काे पाँच महिनामा विदेशी मुद्रा सञ्चिति १४ दशमलव ८ प्रतिशतले बढेकाे छ । राष्ट्र बैंकका अनुसार गएकाे असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव ८ प्रतिशतले बढेर मङ्सिर मसान्तमा १७ खर्ब ६७ अर्ब चार करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा १३ दशमलव ६ प्रतिशतले बढेर मङ्सिर मसान्तमा १३ अर्ब ३१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गएकाे असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा मङ्सिर मसान्तमा ८ दशमलव ९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ९७ कराेड रुपैयाँ पुगेकाे छ । बैंकका अनुसार मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ६ प्रतिशत छ ।











