हेटौंडा– काठमाडौबाट पैदल आएका मजदुरहरुलाई भिमफेदी गाउँपालीकाबाट गन्तव्यतर्फ पठाईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भिमफेदी गाउँपालिका र हरीवन नगरपालिकासङ्ग समन्वय गरि गन्तव्यमा पठाईएको हो ।
निर्माणाधीन भिमफेदि कुलेखानी सडक निरीक्षण गरि फर्कने क्रममा भिमफेदिमा रहेका पैदल यात्रीलाई गन्तव्यमा पठाउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गाउँपालिका अध्यक्ष लामालाई गाडीको व्यवस्था गर्न भन्नुभएको थियो । सर्लाही हरीवनका यात्रुलाई लैजान सहजीकरणका लागि हरीवन नगरपालिकाका मेयर गणेश प्रसाईलाई मुख्यमन्त्री पौडेलले टेलिफोन गर्नुभएको थियो । काठमाडौको विभिन्न स्थानमा मजदुरी गर्ने मकवानपुरको कैलाश गाउँपालिका र सर्लाहीको हरिवनका पैदल यात्रुहरूलाई जानको लागी गाउँपालिकाले यातायातको व्यवस्था गरेकोे थियो । मकवानपुरको कैलाश गाडीपालिकाका १० जना चेपाङ मजदुरलाई भिमफेदी गाउँपालिकाले यातायातको ब्यबस्था गरि गन्तव्यमा पुर्याएको छ ।
यस्तै सर्लाही जाने ५ जनाको टोलीलाई गाउँपालिका अध्यक्ष हिदम लामाले आफ्नो गाडीमा राखेर पथलैया पठाएका थिए । सर्लाहीको हरीवन नगरपालिकाका मेयर गणेश प्रसाइसङ्ग समन्वय गरेपछि हरीवनबाट लिनका लागि यातायातको व्यवस्था गरिएको भिमफेदी गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि काठमाडौमा खान समस्या पर्न थालेपछि घर हिडेको मजदुरहरुले बताएका छन । घर जान उनीहरु बिहान ५ बजे काठमाडौबाट हिडेर अपरान्ह करीब ४ बजे भिमफेदी आईपुगेका थिए । उनीहरुलाई गाउँपालिकाले स्थानीय दम्की रक्स क्लबको समन्वयमा खानाको व्यवस्था गरेको छ ।लकडाउनका कारण हिडेर आएर अलपत्र परेका सबै पैदल यात्रुलाई खानाको व्यवस्था गरेर गन्तव्यमा पुर्याईने लामाले जानकारी दिनुभयो ।