हेटाैंडा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले लकडाउनको पूर्ण रुपमा पालना गर्नका लागि सवैमा आग्रह गरेको छ । मंगलबार कार्यालय बैठकपछी विज्ञप्ती जारी गर्दै कोरोना भाइरस (कोभिन–१९) को संक्रमण फैलन नदिन सरकारले दुईसाता भन्दा बढीको लकडाउनमा घरमै बसेर सहयोग गर्ने सबै नागरिकलाई धन्यवाद दिइएको छ ।

जारी विज्ञप्तीमा सरकारले आगामी दिनमा पनि लकडाउनलाई पुर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरिएकाे छ । बिज्ञप्ती मार्फत अहिलेको कठिन अवस्थामा पनि अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद समेत व्यक्त गरिएकाे छ । विज्ञप्ती मार्फत सरकारले घोषणा गरेको लकडाउन तेस्रो चरणमा प्रवेश गरेको र दोस्रो चरणमा प्रवेश गरेको कोरोना भाइरस (कोभिड–१९) फैलन नदिन सबैले सहयोग गर्नका लागि हार्दिक आग्रह गरिएकाे छ । कोरोनाको सुरक्षाका लागि गुणस्तरीय सामाग्री यथाशिघ्र उपलब्ध गराउन समेत तीनै तहका सरकारसंग नेकपा मकवानपुरले आग्रह गरेकाे छ । लकडाउनका कारण खान नपाएर कोही कसैलार्ई पनि समस्या हुन नदिन स्थानीय तहबाट एकद्वार प्रणाली मार्फत खाद्यान्न वितरण वितरण गर्न समेत नेकपाले अनुरोध गरेको छ । यो लकडाउनको अवधिमा आफ्नो छरछिमेकमा हुनेले सहयोग गर्ने परिपार्टीको विकास गर्न विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

अहिले कोरोना भाइरसको त्रासका कारण अन्य बिरामीको उपचार नपाइरहेको गुनासो आएकाले अहिलेको समयमा कोही पनि उपचार पाउने अधिकारबाट बञ्चित हुन नपरोस भन्ने कुरा विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्तीमा भनिएको छ–‘राहत वितरण गर्दा वैज्ञानिक, व्यवस्थित ढंगले दुरी कायम गरेर मात्र वितरण गर्न अनुरोध गर्दछौं ।’ अहिले खेती लगाउने समय भएकाले किसानलाई आवश्यक पर्ने रासायनिक मल, बीउ बिजन, खाद्य पदार्थ उपलब्ध गराउन स्थानीय तहले सहजीकरण गर्नका लागि स्थानीय सरकारसंग पार्टीले आग्रह गरेको छ ।