हेटाैंडा– कुखुरा व्यवसायी संघ मकवानपुरले आफ्ना एकजना सदस्यको परिवारलाई दुर्घटना विमाको रकम घरमानै पुगेर उपलब्ध गराएको छ । पुस २४ गते हेटौंडा ५ कान्तिराजपथस्थित एक हाडवेयर पसलमा प्लाइउडले च्यापिएर मृत्यु भएका हेटौँडा–११ का रामेश्वर गजुरेलको परिवारलाई बिमा बापतको १० लाख रुपैँया रकम उपलब्ध गराएको हो ।
लामो समयदेखि कुखुरा व्यवसाय गर्दै आउनुभएका गजुरेल ३ बर्षदेखि कुखुरा व्यवसायी संघ मकवानपुरको सदस्य थिए । शनिबार संघका अध्यक्ष राजु अधिकारीसहितको टोलीले मृतक गजुरेलको घरमै पुगी उनको श्रीमती भवानी बस्ताकोटीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।