मकवानपुर– विश्व सुन्दरी (मिस वल्र्ड) २०१९ की बिजेता टोनी एन सिंह सहित मिस वल्र्ड आयोजक टोली आज मकवानपुरको कैलाश गाउँपालिकामा आउनुभएको छ । कैलाश गाउँपालिका–७ मा मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडाले निर्माण गरेको स्वास्थ्य चौकीकोे अवलोकन गर्न मिस वर्ड सहितको टोली आएको हो ।
पुर्व मिस नेपाल खतिवडाले मिस वल्र्ड २०१८ को प्रतिस्पर्धामा नेपालका तर्फबाट ब्युटी विथ पर्पोज बिधा जित्न सफल भएको स्वास्थ्यचौकीको अवलोकन गर्न शुक्रबार मिस वल्र्ड टोनी एन सिंह, मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु पुग्नुभएको थियो । उहाँहरुलाई कैलाश गाउँपालिका र स्थानीयबासिन्दाहरुले भब्य स्वागत गरेका थिए । स्वाथ्यचौकीको अवलोकनपछि मिस वल्र्डकी अध्यक्ष मोर्लेले स्वास्थ्य चौकीमा निर्माण गर्न बाँकी रहेको बर्थिङ सेन्टर निर्माण गर्न आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, कैलाश गाउँपालिका उपाध्यक्ष सुकुमाया थिङ, लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।