हेटौँडा, जेठ २५ शैक्षिक सहयोग कोष नेपाल, मकवानपुरले विपन्न तथा लक्षित वर्गका बालबालिकाहरूका लागि प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । सोमबार कोषका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले छात्रवृत्तिका वितरणका लागि आवेदन माग गर्ने निर्णय गरेको हो ।
संस्थाले कक्षा ९ देखि १२ सम्मका अभिभावक विहिन तथा विपन्न परिवारका जेहेन्दार बालवालिकाको शिक्षामा सहयोग उपलब्ध गराउने गरि छात्रवृति उपलब्ध गराउने गरेको छ । यसअघि तोकिएको समयमा पर्याप्त आवेदन नपरेको भन्दै बैठकले आगामी असार १० गते भित्र आवेदन दिन सकिने निर्णय गरेको हो ।
कोषको छात्रबृत्ति कार्यविधि बमोजिम जिल्लाका विभिन्न विद्यालयबाट सिफारिस भई आएका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्ने गरेको कोषका अध्यक्ष खुलालले बताउनुभयो । उहाँका अनुसार कार्यविधि अनुसार अभिभावक विहीन, असहाय, द्धन्दपिडीत, जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्न लागिएको हो ।
त्यस्तै बैठकमा कोषको कार्यसम्पादन तथा आर्थिक पक्षलाई थप चुस्त र पारदर्शी बनाउने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । बैठकले संस्थाको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य तथा पदाधिकारीहरूलाई थप सक्रिय भूमिका निर्वाह गर्न आह्वान गर्ने समेत निर्णय गरेको उहाँले बताउनुभयो ।