हेटौँडा, २४ जेठ । हेटौँडा–१६, हटियास्थित रेड रोज इङ्लिस बोर्डिङ स्कूलमा विद्यार्थी नेतृत्व छनोटकालागि आज भएको निर्वाचनबाट स्कुल क्याप्टेनमा श्रीजल स्याङ्तान निर्वाचित हुनुभएको छ । यस्तै स्कूल भाइस क्याप्टेनमा बिबिधा राज राई निर्वाचित हुनुभएको हो ।
आइतबार भएको निर्वाचनमा १३१ मतसहित कक्षा ९ का स्याङ्तान र भाइस–क्याप्टेनमा १२० मतसहित बिबिधा राज राई निर्वाचित हुनुभएको निर्वाचन अधिकारी प्रदिप आचार्यले बताउनुभयो । विधालयको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कक्षा ५ देखि १० सम्मका कुल ३१४ मतदातामध्ये २७४ विद्यार्थीले मतदान गरेका थिए भने ४० जना विद्यार्थी अनुपस्थित रहेका थिए ।
निर्वाचनबाट ब्लु हाउस (नीलो सदन) को क्याप्टेनमा सप्रिन्स पाख्रिन १७३ मतका साथ विजयी हुनुभयो । रेड हाउस (रातो सदन) मा ए.आर. थिङ (१५० मत), यलो हाउस (पहेंलो सदन) मा कक्षा ८ का समर्थन श्रेष्ठ (१४८ मत) र ग्रीन हाउस (हरियो सदन) मा मनित अर्याल (१४१ मत) निर्वाचित हुनुभएको अर्का निर्वाचन अधिकृत अश्विन सिग्देलले जानकारी दिनुभयो ।
त्यस्तै आजै भएको निर्वाचनबाट बाल क्लब समेत गठन गरिएको छ । बाल क्लबको अध्यक्षमा कक्षा ९ का रिदिप राई (१७९ मत) निर्वाचित हुनुभएको छ । भेने, उपाध्यक्षमा युनिस दुलाल (१०५ मत), सचिवमा अर्चना तामाङ (९८ मत), सह–सचिवमा कक्षा ८ की क्रिस्टिना स्याङ्बो (८८ मत) र कोषाध्यक्षमा दिक्षा आले मगर (९९ मत) विजयी हुनुभएको छ ।
विद्यार्थी उमेरदेखि नै नेतृत्व विकास र लोकतान्त्रिक अभ्यासको अनुभव गराउने उद्देश्यले निर्वाचन गराइएको विद्यालयले जनाएको छ । बाल क्लब तथा स्कूल क्याप्टेन पदका लागि लोकतान्त्रिक पद्धतिबाट निर्वाचन सम्पन्न भएको सिग्देलले जानकारी दिनुभयो ।
Home निर्वाचन विशेष रेड रोज इङ्लिस बोर्डिङको स्कूल क्याप्टेनमा स्याङ्तान र भाइस–क्याप्टेनमा राई निर्वाचित











