मकवानपुर, जेठ २४ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको पाँचौँ साधारणसभा तथा मिडिया सम्मेलन ‘हेटौँडा घोषणापत्र–२०८३’ जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सञ्चार क्षेत्रका समसामयिक चुनौती र पत्रकारको पेशागत सुरक्षासम्बन्धी १२ बुँदे ’हेटौँडा घोषणापत्र–२०८३’ जारी गरेको हो ।
सम्मेलनबाट पारित घोषणापत्र प्रदेश समिति अध्यक्ष कृष्ण सारु मगरले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा मन्त्री अधिकारीले लोकतन्त्रमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै स्वच्छ पत्रकारीता जहिले पनि आवश्यक हुने बताउनुभयो । उहाँले घोषणा पत्रमा उल्लेख बुँदाहरु तथा पत्रकारको हक हितका लागि प्रदेश सरकार सधै तत्पर रहेको समेत बताउनुभयो ।

कार्यक्रममा सम्मेलनका क्रममा उठेका विभिन्न विषय, सञ्चार क्षेत्रका समस्या तथा पत्रकारका सरोकारका मुद्दाबारे मन्त्री अधिकारीलाई जानकारी गराइएको थियो । घोषणापत्रमा संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, लोकतन्त्र, मानव अधिकार, पत्रकारको पेशागत हित तथा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता व्यक्त गरिएको छ । साथै निजी सञ्चारमाध्यममाथि विभेद हुने गरी लागू गरिएको विज्ञापनसम्बन्धी नीति तथा परिपत्र तत्काल फिर्ता लिन संघीय सरकारसँग माग गरिएको छ ।
त्यस्तै सम्मेलनले पत्रकारलाई निर्वाध रूपमा सूचनामा पहुँच सुनिश्चित गर्न, समाचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी अभियोग लगाउने प्रवृत्तिको अन्त्य गर्न तथा पत्रकारमाथि हुने धम्की, निगरानी र धरपकड रोक्न जोडदार माग गरेको छ । भने, साना लगानीका सञ्चारमाध्यमलाई प्रवद्र्धन गर्दै मिडियालाई उद्योगका रूपमा विकास गर्न आवश्यक वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । यस्तै सञ्चारकर्मीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरी पेशागत सुरक्षाको वातावरण बनाउन तीनवटै तहका सरकारलाई आग्रह गरिएको छ ।

त्यस्तै घोषणापत्रमा संघ, प्रदेश र स्थानीय सरकारबीच संविधानले स्पष्ट गरेको अधिकार क्षेत्रको सम्मान गर्न, प्रदेश तथा स्थानीय सरकारमाथि हुने हस्तक्षेप रोक्न तथा संविधानविपरीतका परिपत्र जारी नगर्न संघीय सरकारसँग माग गरिएको छ । सञ्चार गृहहरूमा लैङ्गिक समानता, अल्पसंख्यक समुदाय तथा फरक क्षमता भएका व्यक्तिहरूको सहभागिता बढाउन आवश्यक नीति निर्माण र कार्यान्वयन गर्न पनि सम्मेलनले सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै प्रदेश राजधानी जिल्ला मकवानपुरलाई पर्यटकीय नगरीका रूपमा विकास गर्न, प्रदेश सरकार सञ्चालनका लागि आवश्यक स्थायी पूर्वाधार निर्माण गर्न तथा बन्द रहेको हेटौँडा कपडा उद्योग र समस्याग्रस्त हेटौँडा सिमेन्ट उद्योगलगायत प्रदेशभित्रका उद्योगधन्दा सञ्चालन गरी रोजगारी सिर्जना गर्न सरकारसँग माग गरिएको छ । यस्तै विभिन्न जिल्लामा नेपाल पत्रकार महासंघका नाममा भोगाधिकार प्राप्त गरी निर्माण गरिएका भवनहरूको भोगाधिकार यथावत् कायम राख्न तथा स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यममार्फत वितरण गर्न प्रदेशभरका स्थानीय तहलाई अनुरोध गरिएको छ ।

घोषणापत्र निर्माण समितिका संयोजक तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका सचिव श्याम खतिवडाले सम्मेलनमा उठेका विषयहरूलाई समेटेर घोषणापत्र तयार गरिएको जानकारी दिनुभयो । सम्मेलनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको संरक्षण, सञ्चारमाध्यमको दिगोपना र पत्रकारको पेशागत सुरक्षाका लागि घोषणापत्र कार्यान्वयनमा जोड दिनु भएको थियो ।











