मकवानपुर– मकवानपुरमा २०७२ सालको भुकम्पका कारण क्षती भएका मध्ये मंगलबार चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लामा भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) मार्फत निर्माण हुने चारवटा स्वास्थ्य संस्थाको भवन मंगलबार शिलान्यास गर्न लागिएको जानकारी दिईएको हो ।

जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) का प्रमुख तुल्सी राम खर्बुजाको अध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन आयोजना गरेर सो सम्बन्धी जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले स्वास्थ्य क्षेत्रमा पछाडी परेको मकवानपुर जिल्लामा स्वास्थ्य संस्था निर्माणले थप ठेवा पुग्ने बताउनुभयो । उहाँले भवनहरु समयमै सम्पन्न होस भन्ने कामना गर्दै गुणस्तरीय र पारदर्शि काम भए नभएको विषयमा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

पत्रकार सम्मेलनमा ईकाई प्रमुख खर्बुजाले जिल्लामा एकै दिन चारवटा स्वास्थ्य संस्था भवनको शिलान्यास गर्न लागिएको जानकारी दिनुभयो । प्रमुख खर्बुजाका अनुसार मंगलबार मकवानपुरको थाहा नगरपालिका–११ स्थित टिष्टुङ्ग स्वास्थ्य चौकीको १० कोठे भवन, राक्सिराङ–८ स्थित खैराङ्ग स्वास्थ्य चौकीको २२ कोठे भवन, बकैया–२ स्थित धिँयाल स्वास्थ्य चौकीको ९ कोठे र भीमफेदी–३ स्थित निवुवाटार स्वास्थ्य चौकीको ९ कोठे भवनको मंगलबार शिलान्यास गर्न लागिएको हो । टिष्टुङ्ग र ५ शैयाको खैराङ्ग स्वास्थ्य चौकी १८ महिना भित्र तथा धियाल र निवुवाटार स्वास्थ्य चौकीको भवन १५ महिना भित्र सम्पन्न हुने प्रमुख खर्बुजाले बताउनुभयो । ४ वटा स्वास्थ्य संस्था भवन निर्माणका लागि १० करोड ४९ लाख ८२ हजार ८२१ रुपैयामा ठेक्का भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा शिलान्यास हुन लागेका ४ सहिति कुल ९ वटा स्वास्थ्य संस्था भवनहरु भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) मार्फत निर्माण हुन लागेको बताउनुभयो । यस अघि एउटा स्वाथ्य संस्था भवन हस्तान्तरण भईसकेको, ४ वटा निर्मार्णाधीन रहेको र ४ वटाको मंगलबार शिलान्यास हुन लागेको उहाँले जानकारी दिनुभयो । ९ वटा स्वास्थ्य संस्था भवन निर्माणका लागि जिल्लामा कुल २३ करोड रुपैयाँ प्राप्त भएको उहाँले जानकारी दिनुभयो । उहाँले मंगलबार मकवानपुरका ४ वटा सहित नवलपुर र नवलपरासीमा गरी १२ वटा स्वास्थ्य संस्था भवनको एकै साथ शिलान्यास गर्न लागिएको बताउनुभयो ।