मकवानपुर– मकवानपुरमा नदिजन्य पदार्थको अभावका कारण विकास निर्माण तथा विभिन्न आयोजनाहरुमा प्रभाव पर्न थालेको स्थानीय तहका प्रमुखहरुले बताउनुभएको छ । ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन समितिको आज बसेको बैठकमा उहाँहरुले विकास निर्माणका कामहरु सञ्चालन गर्न सबैभन्दा आवश्यक पर्ने नदिजन्य पदार्थको समस्या उत्पन्न हुन थालेको बताउनुभएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला अनुगमन समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा आज बसेको बैठकमा उहाँहरुले नेपाल सरकारले जारी गरेको ढुंगा, गीट्टी, बालुवा उत्खनन् सम्बन्धी मापदण्डका कारण नदिजन्य पदार्थ उत्खनन् हुन नपाउँदा विकास निर्माण तथा विभिन्न आयोजनाहरु प्रभावित हुन थालेको बताउनुभएको हो । उहाँहरुले नदिजन्य पदाथृकोृ अभावमा स्थानीय तहका आफ्नै विभिन्न आयोजनाहरु तथा जिल्लामा सञ्चालित विभिन्न परियोजनाहरुमा समेत प्रभाव पर्न थालेकाले समस्या समाधानका लागि पहल गर्न अनुगमन समितिलाई आग्रह गर्नुभएको छ ।

बैठकमा मापदण्डका विषयमा अनुगमन समितिले गरेका प्रयास र अहिलेको अवस्थाका बारेमा अनुगमन समितिका संयोजक खुलालले जानकारी गराउनुभएको थियो । आजको बैठकले अहिले उत्पन्न समस्या समाधानका लागि सम्बन्धीत निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले समस्या समाधानका लागि सहजिकरण गर्ने साथै मापदण्डका कारण आईई हुन नसकि विभिन्न आयोजना तथा परियोजनामा परेको प्रभावका विषयमा सम्बन्धीत निकायमा जानकारी गराउने निर्णय गरेको छ । यस्तै बैठकबाट जिल्लाका विभिन्न स्थानीय तहहरुमा खोला नदिमा ओभर बटनका कारण विपद सृजना सक्ने स्थानको ढ्ंगा गीट्टी बालुवा विपद व्यवस्थापन समिति मार्फत निर्णय गराएर पन्छाउन पहल गर्ने साथै नदि, खोला, खहरेमा माथिबाट बगेर आउने ओभर बटनका कारण तल्लो तटिय क्षेत्रका वस्ति तथा खेतियोग्य जमिनमा विपत निम्तन सक्ने हुँदा त्यस्ता समस्या समाधनका लागि विपत व्यवस्थापन समिति मार्फत हटाउन सम्बन्धित निकायमा आग्रह गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
बैठकमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, मकवानपुरका दुवै डिभिजन वन कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिलगायत ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन समितिका सदस्यहरुको उपस्थिती थियो ।