मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरमा पुननिर्माणको काम संतोषजनक भएको बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको चौथो स्थापना दिवसको अवसरमा शनिबार हेटौँडामा आयोजित कार्यक्रममा उहाँले पुननिर्माणको काम सम्पन्न गर्ने समय सीमा नजिकिदै गएको भन्दै काम समयमै सम्पन्न गर्ने तर्फ सबै लाग्नु पर्ने बताउनुभएको हो ।

उहाँले सबैको सकृयतामा समयमै काम सम्पन्न गर्न सकिने हुनाले सधैं पुननिमार्णमै अल्झिएर बस्न नहुने बताउनुभयो । स्थापना दिवशका अवसरमा जिल्ला आयोजना कार्यान्वयन इकाईले हेटौंडामा विविध कार्यक्रमको आयोजना गरेको हो । इकाईले शनिबार प्रभातफेरीसहित समिक्षा तथा कर्मचारीलाई पुरस्कार वितरण गरेको हो । हेटौँडाको भुटनदेवी माविबाट शुरु भएको प्रभातफेरी बजारको विभिन्न भाग परिक्रमा गरी सिद्धार्थ माविमा पुगेर समिक्षा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा मकवानपुरमा निर्माण सम्पन्न भएका विद्यालय तथा निजि आवासलाई प्रमाण पत्र वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा ईकाई कार्यालयबाट विभिन्न स्थानिय तहमा खटिएका कर्मचारी मध्ये मनहरी गाउँपालिकामा पुनर्निमार्णका क्षेत्रमा खटिएका शम्भुराज कर्णलाई नगद १० हजार नगद सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा शिक्षा ईकाई प्रमुख बद्रीबहादुर पाठक, भवन ईकाईका प्रमुख तुलसीराम खर्वुजाले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला आयोजना कार्यान्वयन ईकाइका प्रमुख बिमल किशोर केपीको अध्यक्षतामा कार्यक्रम भएको हो ।