मकवानपुर– प्रदेश ३ को राजधानी हेटौंडामा शनिबार पहिलो पटक अफ रोड राईक्लिङ च्याम्पियनसिप आयोजना गरिएको छ । पर्यटन वर्ष २०२० को सन्दर्भ पारेर हेटौंडा राइर्डस क्लबले प्रतियोगिताका आयोजना गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सिठ्ठी बजायर सुरु गर्नुभएको च्याम्पियनसिप प्रतियोगितामा ४ महिला सहित ४१ जनाको सहभागिता थियो । प्रतियोगितामा मकवानपुरको हेटौंडा , काठमाडौं, दाङ, धरान, बाराको निजगढ र सिमरा तथा चितवनका गरि राष्ट्रिय स्तरका साइकिलिस्टहरुको सहभागिता रहेको थियो । भीमफेदी गाउँपालिकाको सामरीपुलबाट सुरु भएको च्याम्पियनसिपमा सहभागिहरु मकवानपुरगढीको वडा ५ र ६ साविक आमभञ्ज्याङको डुम्रेकुनाबाट वडा २ बाँसपानी हुदैं शिकरकटेरी वडा ३ को मक्रान्चुलीबाट हेटौंडा ५ पिप्ले निस्केर सानोपोखरा हुदैं हुप्रचौरमा सञ्चालन भईरहेको सडक खाना महोत्सवमा पुगी समापन भएको थियो । साइकिलिस्टहरुले यस क्रममा करीब २८ किलोमिटर दुरी पार गरेका थिए ।
प्रतियोगितामा बुद्धी बहादुर तामाङ प्रथम, सुरज राना मगर द्धीतिय र लक्षमण मल्ल तृतीय भएका थिए । विजयी प्रतियोगिलाई जिसस प्रमुख खुलालले पुरस्कार प्रदान गर्नुभएको थियो । च्याम्पियनसिपका विजेताहरु प्रथमलाई ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगद हित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै च्याम्पियनसिपमा सहभागि मध्ये ४० वर्ष माथीको एक जना साइकललिस्ट लाई उत्कृष्ट घोषित गरि २० हजार बराबरको साईकल पुरस्कार समेत प्रदान गरिएको थियो भने सहभागि ४ जना महिला राईक्लिस्टलाई हौसला प्रदान गर्न एक÷एक थान साईकल हेलमेट प्रदान गरिएको थियो ।
बिजतालाई पुरस्कार प्रदान गर्दै जिसस प्रमुख खुलालले खेलकुदको माध्यमबाट भ्रमण वर्षलाई सफल बनाउन सकिने बताउनुभयो । उहाँले पर्यटन प्रर्बद्धन तथा स्वास्थयकै लागि पनि साइकलले महत्वपुर्ण भुमिका खेल्ने भन्दै आफु पनि अब हप्तामा एक दिन साईकल प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले हेटौंडामा पहिलो पटक आयोजना भएको प्रतियोगितालाई निरन्तरता दिनु पर्ने समेत बताउनुभएको छ ।
कार्यक्रममा समाजसेवी पुरन बहादुर जोशी, विश्व साईकल यात्री पुष्कर शाह, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, मकवानपुर होटल एसोसियसनका अध्यक्ष शंकरलाल श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जन, क्लबका संस्थापक अध्यक्ष दीपेन्द्रचन्द्र ठकुरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष विकास ताम्राकारको अध्यक्षतामा भएको थियो ।