२०७२ सालको भूकम्पपछि निजी आवासमा क्षति पुगेर लाभग्राहीको सुचिमा छुटेका भूकम्पपीडितका लागि सरकारले गरेको पुनः जाँच सर्वेक्षण मकवानपुरमा सम्पन्न भएको छ । अनुदानको सूचीमा छुट भएका भूकम्पपीडितका लागि सरकारले अनुदान प्रदान गर्ने उद्देश्यले गत चैत्र १५ गतेबाट अन्तिम पटकका लागि गरेको पुनः जाँच सर्वेक्षणमा जिल्लामा ६ हजार ८ सय २५ जनाको सर्वेक्षण भएको छ । लाभग्राही सूचीमा छुट हुन गएका भूकम्पपीडितको गुनासोको आधारमा पुनः जाँच सर्वेक्षण गरिएको हो ।
स्थानीय तहहरुमा वडा कार्यालयबाट सिफारीस भएर गाउपालिका÷नगरपालिकाकाले प्रमाणित गरेका प्रभावितहरुको अन्तिम सर्वेक्षण गरिएको हो । लाभग्राहीको सूचीमा छुट हुन गएका भूकम्पपीडितका लागि प्राविधिकहरुलाई तालिम दिएर स्थलगत लगत संकलनकालागि खटाएको थियो । प्रविधिकहरुले स्थलगत लगत संकलन गरेर ६ हजार ८ सय २५ जना त्यस्ता लाभग्राहीहरु मकवानपुरमा रहेको तथ्याङ्क संकलन गरेको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इन्जिनियर रविन पाठकले जानकारी दिनुभएको छ ।
जिल्लामा त्यस्ता लाभग्राहीहरु सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकामा रहेको र सबै भन्दा कम ईन्द्रसरोवर गाउँपालिकामा रहेको उहाँले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकामा त्यस्ता भुकम्प प्रभावितको संख्या १ हजार २ सय ४९ तथा ईन्द्रसरोवरमा १ सय २० जनामात्र रहेको उहाँले जानकारी दिनुभएको छ । त्यस्तै जिल्लाको बागमति गाउँपालिकामा १ हजार १ सय ४८, बकैयामा ५ सय १९, कैलाशमा २ सय १०, गढिमा ३ सय ४५, मनहरीमा १ हजार १ सय १४, राक्सिराङ्मा ७ सय ८८ र थाहा नगरपालिकामा १ हजार ८४ गरि कुल जिल्लामा ६ हजार ८ सय ८४ जनाको लगत संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

निजी आवास पुननिर्माण लाभग्राहीमा सूचीकृत हुन पाऊँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षण छुट भएका गुनासोकर्ताहरू, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताहरू, छुट तथा पुनः जाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ताहरू र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोको अन्तिमपटक छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।
सरकारले महाभूकम्प २०७२ पछि निजी घर बनाउने क्रममा अनुदान रकममा सम्झौता नै नगरी घर बनाएका घरधनीलाई समेत सहज रूपमा एकमुष्ठ ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभएको छ ।
त्यस्तै जिल्लामा हाल १२ हजार ८ निजि आवास निमार्ण सम्पन्न भईसकेको समेत पाठकले बताउनुभएको छ । जिल्लामा सबैभन्दा बढी थाहा नगरपालिकामा निजि आवास पुर्ननिर्माण भएको उहाँले जानकारी दिनुभयो । थाहामा २ हजार ९ सय ९५ वटा घर बनिसकेको छ । त्यस्तै हेटौंडा उपमहानगरपालिकामा २ हजार १ सय, वाग्मती गाउँपालिकामा ६ सय ५०, बकैयामा ५ सय ५, मकवानपुरगढीमा ७ सय, मनहरीमा १ हजार ४ सय ८० वटा, भीमफेदीमा १ हजार ४ सय ८०, राक्सिराङमा ८ सय, कैलाशमा एक हजार १ सय र इन्द्रसरोवरमा ९ सय ९८ घर पुनर्निर्माण सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लामा हालसम्म तीन पटक गरेर पहिचान भएका १ हजार ८ सय २४ भूमिहीन लाभग्राहीलाई अनुदान सम्झौता गर्ने निर्णय भएको उहाँले बताउनुभयो । जसमा पूर्ण लाभग्राहीको संख्या १ हजार ३ सय ८७ र प्रबलीकरण लाभग्राही ४ सय ३७ रहेको छ । जिल्लामा हाल सम्म पहिचान भएका पुर्ननिर्माण लाभग्राही ३४ हजार ३ सय ९ जना रहेका छन् । जस मध्ये २७ हजार ८ सय ३५ जनाको अनुदान सम्झौता भएको छ । जिल्लामा अझै पनि ६ हजार ४ सय ७४ भुकम्प प्रभावित लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेको छैन । अन्तिम सर्वेक्षणले सबैलाई समेटेको र अहिले सर्वेक्षण भएकाहरुको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फ¥छ्यौट गरेपछि अनुदान सम्झौता हुने उहाँले जानकारी दिनुभयो ।