मकवानपुरको भीमफेदी गाउँपालिकाले पालिकामा बसोबास गरेका चेपाङ समुदायका ५ सय ५ जनाको स्वास्थ्य बिमा गरेको छ । आर्थिक बिपन्नताका कारण स्वास्थ्य उपचारबाट बञ्चित हुँदै आएका गाउँपलिकाका १ सय ८ परिवार का ५ सय ५ जना चेपाङ समुदायको स्वास्थ्य बीमा गरिएको हो ।
सामान्य रोगको समेत उपचार गराउन नसक्दा अकालमै मृत्युबरण गर्नु पर्ने बाध्यताबाट मुक्ति दिन गाउँपालिकाको लगानीमा १ सय ८ परिवारका ५ सय ५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो । गाउँपालिकाले ४ लाख १९ हजार रुपैयाँ लगानी गर्दै बिपन्न परिवारका चेपाङहरुको स्वास्थ्य बीमा गरिदिएको हो । बीमा गरिएका परिवारलाई शुक्रबार गाउँपालिकाले बीमा कार्ड हस्तान्तरण गरेको छ । बीमा भदौंबाट लागू हुने गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर–२ कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर बीमा गरिएका परिवारका सदस्यलाई परिचय पत्र बितरण गरेको हो । स्वयमसेवक परिचालन गरी बिपन्न चेपाङ समुदायको तथ्याङक संकलन गरी बीमा गरिएको गाउँपालिकाले जनाएको छ । संकलित तथ्याङकअनुसार गाउँपालिकाको ५ र ८ नम्बर वडा बाहेक अन्य सबै वडामा चेपाङ समुदायको बासोबार रहेको कार्यालयका स्वास्थय संयोजक ध्रुवप्रसाद लामिछानेले जानकारी दिनुभयो । तथ्याङक अनुसार १ मा २६ परिवारमा ७५ जना, २ मा २० परिवारको ८३ जना, ३ मा ४ परिवारको १५ जना, ४ मा ८ परिवारका २५ जना, ६ मा २५ परिवारको १३७ जना, ७ मा १ परिवारको २१ जना र ९ मा २७ परिवारको १३९ जना चेपाङहरुको स्वास्थ्य बीमा गरिएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवरले संयुक्त रुपमा परिचय पत्र बितरण गर्नुभएको हो ।