सत्तारुढ गठबन्धनको बैठकले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा संसद्को बजेट अधिवेशन, बजेटमा सरकारका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल भएको नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
उनका अनुसार बजेट अधिवेशनमा सांसदलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो । त्यस्तै संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐनलगायतका महत्त्वपूर्ण विधेयकहरूका विषयमा पनि छलफल भएको उनले बताए ।
प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको पनि बताए । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर सत्तारुढ दलहरूले सरकारसँग प्रस्ट बहुमत रहेकाले विश्वासको मत लिइरहनु नपर्ने तर्क गरेका छन् ।