मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको र भ्रष्टाचारमा संलग्न भएको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । एमाले बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको र भ्रष्टाचारमा संलग्न भएको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी दिनुभएको हो ।
प्रमुख सचेतक निरौलाले प्रदेशसभामै विपक्षी दलमाथि सरकार प्रमुख संसदीय मर्यादाविपरित व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाउनुभएको छ । ‘सरकारले अन्धाधुन्ध गरेको खर्चको आम नागरिक, बुद्धिजिवी तथा सञ्चार जगतले तीव्र विरोध गरिरहँदा प्रदेश सरकारका प्रमुख स्वयम्ले सरकारले खर्च नगरे कस्ले गर्छ त ? भन्ने अत्यन्तै गैह्र जम्मेवार र पदीय मर्यादा विपरीत गैह्रकानूनी अभिव्यक्ति सार्वजनिक सभा समारोहहरुमा दिने, सरकारको नेतृत्व आफूले गरिरहेको समेत भूलेर प्रतिपक्ष जस्तो व्यवहार प्रस्तुत गर्ने, पदको मर्यादा भूलेर व्यक्तिगत गालीगलौजमा उत्रने क्रियाकलाप अत्यन्तै खेदजनक छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लोकतन्त्रमा प्रतिपक्षविहीन संसदको परिकल्पना गर्नुपर्छ भन्ने मुख्यमन्त्रीको अभिव्यक्ति दम्भको पराकाष्ठा रहेको निष्कर्ष निकाल्दै एमालेले आगामी दिनमा संसदीय मान्यता र पदको गरिमा राख्न ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्रीले सार्वजनिक सभा, समारोहमा मेरो पार्टीको कमिटि नबनेको वडामा एक रुपैयाँ पनि बजेट हाल्दिन भन्दै हिँड्नुभएको उल्लेख गर्दै प्रदेश सरकार र मुख्यमन्त्रीलाई सच्चिन एमालेले चेतावनी दिएको छ । विज्ञप्तिमा बागमती प्रदेश सरकारले कानून विपरित राज्यको अहीत हुनेगरी र राज्य स्रोतको चरम दुरुपयोग गर्नेगरी गरेका काम कारवाहीहरुले नेकपा (एमाले) संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । यस्तै प्रदेश गौरवका आयोजनाहरु कटौती गर्ने तथा कानून, आर्थिक अनुशासन, चलनचल्ती एवम् न्युनतम् मूल्य र मान्यताहरुलाई कुल्चँदै रकमान्तर गर्ने, योजना कटौति गर्ने, महत्वपूर्ण परियोजनाहरुका कामहरु अवरुद्ध गर्ने जस्ता गैरजिम्मेवारीपूर्ण काम गरिरहेको पनि एमालेको आरोप लगाएको छ ।
विज्ञप्ती