file photo

मकवानपुर – मकवानपुरमा जारी सहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज बीफसी भरतपुर र चर्च ब्वाइजबीच खेल हुने छ । हेटौंडा–५, स्थित पिप्ले रंगशालामा जारी प्रतियोगितामा दिउसो ३ बजे यी दुवै टोली आमने सामने हुने छन् ।
यसअघि हिजो भएको उद्घाटन खेलमा नव जनजागृति युवा क्लव सिमराले विजय यात्रा सुरु गरेको छ । उद्घाटन खेलमा सिमराले सर्लाहीको बागमती युवा क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो । सिमराको जितमा विवेक चौधरी र कृपाकान्त चौधरीले गोल एक एक गोल गरेका थिए ।
आगामी ३० गतेसम्म सञ्चालन हुने चौथो संस्करणको मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा नव जनजागृति र बागमतीसंगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, बीएफसी चितवन, चर्चब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा मकवानपुरका स्थानीय तहहरुको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो ।